तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा सवारी दुर्घटना हुँदा मालपोत अधिकृतको मृत्यु

भैरहवा । रुपन्देहीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार राती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको दुर्घटनामा रुकुमको मुसिकोट नगरपालिका–१ घर भई हाल रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मझगावास्थित मालपोत कार्यालयमा कार्यरत कार्यालय प्रमुख (मालपोत अधिकृत) ४२ वर्षीय तिलक बहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार राती करिब ८ः५० बजे भैरहवाबाट बनगाइतर्फ गइरहेको बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक रावतको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह बिष्टले बताउनुभयो ।

निरीक्षक बिष्टका अनुसार दुर्घटनाबाट घाइते रावतलाई तत्कालै सिद्धार्थनगर सिटी हस्पिटल पुर्‍याइएको र चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

कारचालक लुम्बिनी साँस्कृतिक नगरपालिका–३ का ५३ वर्षीय अलाउद्दिन मुसलमान, मोटरसाइकल र कार प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button