तपाईँ सुन्दै हुनुहुन्छः

गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । बाजुराबाट एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बडिमालिका नगरपालिका वडा नम्बर ९ की २२ वर्षीया सम्झना सुनारलाई हेलिकप्टरमार्फत धनगढी उद्धार गरिएको हो ।

सुनारको जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरिले जानकारी दिनुभयो ।

सुनारलाई विगत लामो समयदेखि मुटुको समस्या रहेको र शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने भएका कारण सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जिल्ला अस्पताल बाजुराले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग तथा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको एन ०६६ नम्बरको हेलिकप्टरमार्फत सुनारलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।

जिल्लामा हरेक महिनामा गर्भवती तथा सुत्केरी महिलाको जिल्लामा उपचार सम्भव नभएर जिल्ला बाहिर सेनाको हेलिकप्टरमार्फत उद्धार हुँदै आएको छ । बिहीबार पनि एक जना सुत्केरी महिलाको हेलिकप्टरमार्फत सुर्खेत उद्धार गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button