तपाईँ सुन्दै हुनुहुन्छः

आजको परिवर्तन सहिदको बलिदानको परिणाम: मन्त्री शर्मा

घोराही I सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आजको राजनीतिक परिवर्तन सहिदको बलिदानको परिणाम भएको बताउनुभएको छ ।

सहिदको रगत, पसिना र त्यागको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएकाले यसमाथि कसैले चुनौती दिन नसक्ने बताउनुभयो ।

सहिद सप्ताहको अवसरमा नेकपा माओवादी केन्द्रले दाङको घोराही उपमहानगरपालिका- ६ स्थित सहिद पार्कमा आयोजना गरेको कार्यक्रममा गणतन्त्र स्थापनाका लागि प्राण आहुति गरेका सदिहहरुको सालिकमा माल्यार्पण गर्दै उहाँले सो धारणा राख्नुभएको हो । 

माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री शर्माले अहिलेको व्यवस्था र परिवर्तन प्रति धेरै सहिदहरूको त्याग र वलिदानलाई कोही कसैले पनि अवमूल्यन गर्न नमिल्ने भन्दै उहाँले सहिदको वलिदान सधैँ अमूल्य रहेको बताउनुभयो । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उन्नत व्यवस्था रहेको हुँदा व्यवस्था माथि प्रश्न उठाउने ठाउँ नरहेको उहाँको भनाई थियो । अहिले अस्थिरता चाहनेहरूले विद्यमान व्यवस्थामाथि आलोचना गरेपनि गणतन्त्र स्थापनाको जग र यसको आयामलाई सबैले बुझ्न आवश्यक रहेको बताउनुभयो ।

मुलुकमा व्यवस्था परिवर्तनका लागि भएका युद्ध र आन्दोलनका कारण पीडामा परेका व्यक्ति, परिवारलाई न्याय दिलाउने काम अझै अधुरै रहेको हुँदा यसको छिनोफानो गर्न अब ढिलाइ गर्न नहुने बताउनुभयो । 

‘मुलुकमा शान्ति प्रक्रियाको थालनी भएको दुई दशक पुग्न थालेको छ, शान्ति प्रक्रियाको काम ६ महिनामा टुङ्गो लगाउने कुरो थियो वास्तवमा निकै ढिलो भई सक्यो, अब शान्ति प्रक्रियाको बाँकी कामलाई विशेष प्राथमिकतामा राखेर चाँडो भन्दा चाँडो सार्थक टुङ्गोमा पुर्‍याउनुपर्छ । यसका लागि सरकार गम्भीर रूपमा लागि परेको छ’, उहाँले भन्नुभयो ‘सरकारको विशेष प्रक्रियामा रहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई संसदबाट पारित गर्ने प्रक्रियामै छौँ ।’

वेपत्ता योद्धाहरूको विषयलाई सम्बोधनका लागि विधेयक पारित नै महत्त्वपूर्ण विषय भएको बताउँदै उहाँको जनआन्दोलनका क्रममा घाइते भएका योद्धाहरूको उपचारको सुनिश्चितसहितको कार्यविधि बनेको बताउनुभयो ।

जुनसुकै पार्टीमा आस्था राखे पनि मुलुकको हितका लागि गरिएको आन्दोलन सबैको साझा भएको भन्दै यो व्यवस्थाको रक्षा गर्नु सबैको दायित्व भएको उहाँको भनाई थियो । ‘सहिदले बगाएको रगत खेर जाने छैन र खेर जान दिनु हुँदैन’ उहाँले भन्नुभयो । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल मारिएको दिनदेखि सुखानी हत्याकाण्डसम्म पारेर माओवादी घटकहरूले हरेक वर्षको फागुन १४ देखि फागुन २१ सम्म सहिद सप्ताहको रूपमा मनाउँदै आएका छन् ।

कार्यक्रममा सहिदका पिता एवम् माओवादी केन्द्रका प्रदेश सल्लाहकार जगबीर चौधरी, दाङ  जिल्ला सचिव विश्वराज आचार्यलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button