तपाईँ सुन्दै हुनुहुन्छः

‘लोकतान्त्रिक व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि सबैको योगदान आवश्यक’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ठूलो त्याग र बलिदानबाट अहिलेको संघीय लोकतान्त्रिक व्यवस्था स्थापना भएकाले यसको संरक्षण र पूर्ण कार्यान्वयनका लागि सबैले योगदान गर्नुपर्ने बताउनुभएको छ ।

हुलाक सेवा विभागले प्रकाशन गरेका हुलाक टिकटहरूमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्न आज सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले राजनीतिक व्यवस्था परिवर्तनमा योगदान पुर्‍याउने अग्रजहरूको सम्मान गर्दै प्राप्त उपलब्धिहरूको रक्षाका लागि सबैको साथ रहनुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले व्यवस्था परिवर्तनका लडेका व्यक्तिहरूको योगदानको कदर हुन नसक्दा समाजमा लोकतान्त्रिक गणतन्त्रप्रति नै नकारात्मक टिप्पणीहरू हुन थालेको उल्लेख गर्नुहुँदै बिस्तारै सबैको सम्मान हुँदै जाने र त्यसका लागि वर्तमान सरकार लागिरहेको पनि बताउनुभयो ।

मन्त्री शर्माले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूको सम्मानमा सरकारले हुलाक टिकट प्रकाशन गर्ने, विभिन्न पुरस्कार तथा सम्मानहरू प्रदान गर्ने लगायतका कामहरू गर्दै आएको र यसबाट समाजमा असल काम गर्दै गए कुनै न कुनै दिन कामको मूल्याङ्कन हुन्छ भन्ने मानक स्थापना गर्न चाहेको पनि बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले हुलाक टिकटका माध्यमबाट प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण र प्रचार–प्रसार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

पूर्व मन्त्री एवं सहाना प्रधान प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्रीले देश र समाजका लागि योगदान पुर्‍याउने व्यक्तिहरूको इतिहास नयाँ पुस्तामाझ पुर्‍याउन हुलाक टिकटले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा नई प्रकाशनका कुलपति इन्दिरा प्रसाईँ, आज मुखाकृति अंकित हुलाक टिकट प्रकाशन भएका सहिद नेत्रलाल पौडेलकी धर्मपत्नी विष्णु शर्मा पौडेल, सहिद रामवृक्ष यादवकी छोरी सुनिता यादव लगायतले जनताको चाहना अनुसारका कामहरू हुन सके मात्रै सहिदका सपना पुरा हुने बताउनुभयो ।

कार्यक्रममा हुलाक सेवा विभागले प्रकाशन गरेको त्रिपुरा सुन्दरी मन्दिर, डोल्पा, नई प्रकाशन रजत महोत्सव, औषधीय गुण भएका नेपालमा मात्रै पाईने रैथाने वनस्पति, तथा महिला नेतृ सहाना प्रधान एवं सहिदहरू नेत्र पौडेल अभागी, कामी बुढा र रामवृक्ष यादवको मुखाकृति अंकित विभिन्न ११ वटा हुलाक टिकटहरूमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरिएको हो ।

आज सार्वजनिक गरिएका टिकटहरू ६४ वर्षपछि पहिलो पटक नेपालमा नै छापिएका हुन् ।

यस अगाडि विक्रम संवत् २०१६ सालमा नेपालमा नै हुलाक टिकट छापिएको इतिहास भए पनि यस बिचमा भने विभिन्न देशमा हुलाक टिकट छाप्ने गरिएको हुलाक सेवा विभागका महानिर्देशक प्रदीपराज अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button