तपाईँ सुन्दै हुनुहुन्छः

एमाले दैलेखको अध्यक्षका लागि १० जना आकाङ्क्षी

दैलेख । नेकपा एमाले दैलेखको नेतृत्वमा पुग्न दर्जन भन्दा बढी नेता आकाङ्क्षी देखिएका छन् । यही माघ २७ गतेदेखि सुरु हुने एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनबाट नेतृत्वमा पुग्नका लागि एक दर्जन बढी नेताले आकाङ्क्षा देखाएका हुन् । अध्यक्षको दाबी गरेका सबै नेताहरू लामो समयदेखि एमालेको साङ्गठनिक, वैचारिक रूपमा परिपक्व मानिएका नेताका रूपमा परिचित छन् ।

अधिवेशन आउन केही दिन बाँकी रहँदा जिल्लाको नेतृत्व लिन नेताहरूको दौडधुप तीव्र बनेको छ । जिल्लाको नेतृत्व लिन चाहने नेताहरू कार्यकर्ता माझ आफूले जिल्लाको नेतृत्व लिन चाहना गरेको भन्दै आफ्ना एजेन्डासहित प्रस्तुत हुन थालेका छन् ।

जिल्ला अध्यक्षका लागि हालका पार्टी उपाध्यक्ष प्रेमबहादुर बुढा प्रमुख दाबेदारका रूपमा देखिनु भएको छ । कार्यवाहक पार्टी अध्यक्षसमेत रहनु भएका बुढा राजनीति हिसाबले परिपक्व नेता मानिनु हुन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा भैरवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित बुढासँग लामो राजनीतिक अनुभव पनि छ ।

यस्तै अध्यक्ष पदका अर्का बलिया दाबेदार सूर्य बहादुर शाही यस अघि ७ औँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजित हुनुभएको थियो । एमालेमा पुराना र शालीन नेताका रूपमा परिचय बनाउनु भएका शाही जिल्ला विकास समिति दैलेखको उपसभापति समेत हुनुहुन्थ्यो । यस अघि भूमि समस्या समाधान आयोग दैलेखको अध्यक्षसमेत भइसक्नु भएका शाहीसँग पनि राजनीतिको लामो अनुभव छ ।

एमाले दैलेखको अध्यक्षका दाबेदार कर्णाली प्रदेशसभाका पूर्व सदस्य सुशील कुमार थापा पनि हुनुहुन्छ । जनता माझ राम्रो छवि बनाउनु भएका थापा सङ्गठन निर्माणमा परिपक्व नेता मानिनु हुन्छ । युवा पुस्तामा लोकप्रिय उहाँ पार्टी निर्माण तहमा युवाको सहभागिता उल्लेख्य हुनुपर्ने बताउनु हुन्छ ।

यसैगरी एमाले दैलेखका नेता धीर बहादुर शाहीसमेत पार्टी अध्यक्षका बलिया आकाङ्क्षी हुनुहुन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा ठाँटिकाँध गाउँपालिकाको अध्यक्षमा निर्वाचित उहाँ एमाले दैलेखका पुराना नेता हुनुहुन्छ । सङ्गठन निर्माणमा विगतदेखि उल्लेख्य भूमिकामा रहने उहाँ जनतामाझ लोकप्रिय हुनुहुन्छ ।

अध्यक्षका लागि एमालेका पुराना नेता रत्नबहादुर खड्कासमेत चुनावी मैदानमा उभिने तयारीमा हुनुहुन्छ । उहाँसँग लामो राजनीति अनुभव छ । खड्का पनि साङ्गठनिक हिसाबले परिपक्व नेता मानिनु हुन्छ । उहाँ दैलेखको पहिलो नारायण नगरपालिकाको २०५४ मा उपमेयर २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित हुनुभएको थियो ।

यस्तै एमाले दैलेखको निवर्तमान पार्टी सचिवसमेत रहनु भएका तिलक रिजाल अध्यक्षको दाबेदारको रूपमा देखिनु भएको छ । पार्टीमा राम्रो पकड रहेको मानिने रिजाल यस अघि सम्पन्न प्रदेश सभा निर्वाचनमा दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा पराजित पराजित हुनुभएको थियो ।

यसैगरी एमाले दैलेखको अध्यक्षमा जिल्ला समन्वय समिति दैलेखका पूर्व प्रमुख प्रेम बहादुर थापा समेत अध्यक्षको आकाङ्क्षी देखिनु भएको छ । पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट एक कार्यकाल उपाध्यक्षका रूपमा काम गरी सक्नु भएका थापा एमालेका पुराना नेता मानिनु हुन्छ ।

पार्टीको छैटौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजित चामुण्डा विन्दवासिनी नगरपालिकाका पूर्व मेयर सूर्य बहादुर शाही समेत यसपालि अध्यक्ष पदका आकाङ्क्षी हुनुहन्छ । उहाँ एमालेमा अध्ययनशील, शालिन र प्रभावशाली नेताका रूपमा परिचित हुनुहुन्छ ।

यस्तै एमालेका नेता नन्द किशोर बस्नेतको पनि अध्यक्षका लागि चर्चा हुने गरेको छ । बस्नेतले लामो समय औद्योगिक विकास लिमिटेडको जिएम भएर काम गरिसक्नु भएको छ ।

एमाले दैलेखका जनसंगठन विभाग प्रमुख गणेश रेग्मीको पनि अध्यक्षका लागि चर्चा हुन थालेको छ । लामो समय शिक्षण पेसामा आबद्ध रेग्मी पार्टीका विभिन्न पदमा रही काम गरिसक्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button