तपाईँ सुन्दै हुनुहुन्छः

श्रोताको अभिरुचिका कार्यक्रम प्रसारणमा जोड दिन सचिव सुवेदीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले श्रोताको अभिरुचिका आधारमा रेडियो नेपालले प्रसारण सामग्रीहरू प्रसारण गर्नेतर्फ विशेष ध्यान दिन रेडियो नेपालका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । 

सञ्चार मन्त्रालयको सचिवको पदभार ग्रहणपछि आज पहिलो पटक रेडियो नेपालको निरीक्षण भ्रमण गर्नुहुँदै सञ्चार सचिव सुवेदीले आधिकारिक सूचना दिने सञ्चार माध्यमको रुपमा चिर परिचित रेडियो नेपालले आफ्नो त्यो साखलाई जोगाउँदै प्रतिस्पर्धी बजारमा खरो उत्रन सक्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सञ्चार सचिव सुवेदीले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण सेवाका रुपमा अगाडि बढाउने प्रक्रिया अगाडि बढिसकेकाले सोही अनुरुप आगामी दिनमा अगाडि बढ्ने गरी तयार रहन रेडियो नेपालका उच्च पदाधिकारीहरूलाई आग्रह पनि गर्नुभयो । 

सञ्चार सचिव सुवेदीले राम्रा र जनमुखी योजना ल्याउन रेडियो नेपालका पदाधिकारीहरूलाई आग्रह गर्नुहुँदै सहजिकरणका लागि आफु तयार रहेको बताउनुभयो । 

सार्वजनिक प्रसारण सेवा विधेयक राष्ट्रिय सभाबाट पारित भई हाल प्रतिनिधि सभाको समितिमा छलफलको क्रममा रहेको र सम्भवतः संसद्को आगामी अधिवेशनबाट पारित हुने अवस्थामा रहेको पनि सञ्चार सचिव सुवेदीले बताउनुभयो । 

त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले डिजिटल नेपालको परिकल्पना अनुसार आफूलाई रूपान्तरित गर्दै अगाडि बढी रहेको र हाल केन्द्रीय प्रसारणसँगै सातवटै प्रदेशमा प्रादेशिक प्रसारण र देशका विभिन्न स्थानमा ३२ वटा एफ एम स्टेशनको माध्यमबाट आम जनता बीच प्रसारण पहुँच पुर्‍याइरहेको जानकारी गराउनुभयो । 

कार्यकारी निर्देशक केसीले हाल २१ भाषामा समाचार तथा २० भाषामा कार्यक्रम प्रसारण गर्दै आएको रेडियो नेपालले निकट भविष्यमा थप २ भाषा बज्जिका र बैतडेलीमा समाचार तथा कार्यक्रम प्रसारण गर्ने तयारी गरेको पनि बताउनुभयो । 

कार्यक्रममा रेडियो नेपालका नायव कायकारी निर्देशकहरू खगेन्द्र खत्री न्यौपाने, चन्द्रभुषण लाल दास र कृष्णचन्द्र पौडेल सहित रेडियो नेपाल सञ्चालक समितिका सदस्य तिलकजंग बुढाथोकी, विभिन्न महाशाखा तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button