तपाईँ सुन्दै हुनुहुन्छः

बाँके कुष्ठ रोगको उच्च जोखिममा, पाँच महिनामा थपिए ३३ बिरामी

नेपालगञ्ज । बाँके कुष्ठ रोगको उच्च जोखिममा रहेको देखिएको छ । जिल्लामा प्रत्येक बर्ष उल्लेख्य सङ्ख्यामा नयाँ बिरामी फेला परिरहेका छन् । पछिल्लो पाँच महिनामा मात्रै ३३ जना नयाँ बिरामी फेला परेका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन रवीन्द्रकुमार शाहले पछिल्लो समय कुष्ठ रोगबाट १४ बर्ष मुनिका बालबालिकाहरू बढी प्रभावित भएको जानकारी दिनुभयो । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म बाँकेमा ३३ जना नयाँ बिरामी भेटिएकोमा १३ जना १४ बर्ष मुनिका बालबालिका छन् ।

पाँच महिनाको अवधिमा फेला परेका कुष्ठ रोगका नयाँ बिरामी मध्ये नेपालगञ्जका ८, खजुराका ६, कोहलपुर र जानकीका ५/५ जना, नरैनापुरका ४, बैजनाथका ३ र डुडुवा गाउँपालिकाको २ जना रहेका छन् ।

लुम्बिनी प्रदेशमै बाँके दोस्रो उच्च जोखिममा छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले कुष्ठ रोगको प्रकोप दर बढिरहे पनि सरकारले यसको निवारणका लागि लगानी गर्न छोडिसकेको बताउनुभयो । कुष्ठरोगीलाई गरिने विभेद र दुर्व्यवहार उस्तै रहेको पौडेलेको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button