तपाईँ सुन्दै हुनुहुन्छः

नवलपुरमा ६ महिनामा सवारी दुर्घटनामा २१ जनाको मृत्यु 

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा चालु आर्थिक वर्ष २०८०/०८१ को महिनामा सवारी दुर्घटनामा परी २१ जनाले ज्यान गुमाएका छन् । 

चालु आर्थिक वर्षको ६ महिनामा नवलपुरमा भएका ७० वटा सवारी दुर्घटना परी २१ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ६७ जना घाइते भएका छन् । जसमध्ये ४० जना गम्भीर र २७ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको तथ्याङ्कले देखाएको छ ।

ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा सबैभन्दा बढी कात्तिक र पुस महिनामा सवारी दुर्घटना भएको छ । कात्तिक र पुस  महिनामा  १६/१६ वटा सवारी दुर्घटना भएको छ । 

यस्तै, दुर्घटनाबाट सबैभन्दा बढी कात्तिक महिनामा ९ जनाले ज्यान गुमाएका छन् । साउन, भदौ, असोजमा एक÷एक जना, मङ्सिरमा  ५ र पुस महिनामा ४ जनाको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अच्युत राज आचार्यका अनुसार विगतका केही वर्षको सवारी दुर्घटनाको तथ्याङ्क हेर्दा दुर्घटनामा केही कमी आएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको सक्रियताका कारण दुर्घटना सङ्ख्या र मृतक सङ्ख्या घटेको आचार्यको भनाई छ । 

नवलपुर गण्डकी प्रदेश कै सबैभन्दा धेरै सवारी दुर्घटना हुने जिल्ला हो । यहाँ सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरीले, रोड सेफ्टी टिप्स, रोड सेफ्टी कर्नर अभियान, नमस्ते अभियान, चालकसँग १ मिनेट कार्यक्रम, विद्यालय सचेतना कार्यक्रम, यात्रु सहायता कक्ष स्थापना र प्रशिक्षण, अन्तरक्रिया कार्यक्रम, कृत्रिम सडक दुर्घटना उद्धार तथा व्यवस्थापन सिमुलेशन, हुस्सु लाग्दा र रातको समयमा टल्किने स्टिकर टाँस्ने अभियान, प्रेसर हर्न हटाउने अभियान, ट्राफिक चेकिङ लगायतका अभियान सञ्चालन गरेपछि दुर्घटनामा कमी आएको आचार्यको भनाई छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button