तपाईँ सुन्दै हुनुहुन्छः

कन्दरा ब्यान्डले सातै प्रदेशमा साङ्गीतिक अभियान चलाउने

कास्की । पोखरेली ब्यान्ड कन्दरा २० वर्षपछि गृह नगर पोखरामा गुञ्जिने भएको छ । 

कुनै बेलाको चर्चित र लोकप्रिय कन्दरा ब्यान्ड झण्डै २० वर्षपछि आउँदो शुक्रबार साँझ पोखराको प्रदर्शनी केन्द्र नयाँ बजारमा गुञ्जिन लागेको हो । 

पर्यटनसँग सम्बद्ध संघ संस्थाहरूको छाता संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा ‘कन्दरा साङ्गीतिक अभियान–२०८०’ अन्तर्गत पोखरामा पहिलो कार्यक्रम हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

पुस २७ गते साँझ ५ बजेदेखि ७ बजेसम्म २ घण्टा कन्दराले आफ्नो नयाँ तथा पुराना गरेर डेढ दर्जन गीत प्रस्तुत गर्नेछ । कार्यक्रममा कन्दराका गायक विवेक श्रेष्ठ गुन्जिरहँदा उहाँलाई  सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन र पङ्कज झाले सङ्गीतमा साथ दिनुहुने छ । 

कन्दरा लाइभ कन्सर्टसमेत नाम दिइएको सो साङ्गीतिक कार्यक्रमको व्यवस्थापन कन्दरा व्याण्डको व्यवस्थापन हेर्दै आउनुभएको अल्फा स्क्वायर प्रालिले नै गर्ने भएको छ । कार्यक्रमलाई भव्यता दिन काठमाडौँबाटै आईएसएसको साउण्ड सिस्टम र लाइट ल्याएर प्रयोग गरिएको आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

‘पहिला घरदेश अनि परदेश’ भन्ने मूल मन्त्रका साथ हुने साङ्गीतिक अभियान नेपालको सातै प्रदेशमा आयोजना गरिने परिषद्का अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

पोखरासहित समग्र नेपालको पर्यटनमा टेवा पुगोस् भन्ने हेतुले कार्यक्रम गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । “हामी कार्यक्रमको दौरानमा सरोकारवालासँग पनि छलफल गर्छौँ, साङ्गीतिक कार्यक्रम भइरहँदा पनि आन्तरिक ठाउँहरूको भ्रमणका लागि अपिल गर्छौँ । त्यसपछि परदेशमा गएर पनि घरदेश भ्रमणको निम्तो दिन्छौँ ।”

कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठले आफू जहाँ भएपनि देशको मायामा कहिल्यै कमी नआएको बताउनुभयो। “प्राकृतिक सुन्दरताले भरिएको नेपालमा अथाह सम्भावना छ, कयौँ देश घुमे । तर नेपाल जत्तिको सुन्दर कहीँ पाइन”,  गायक श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button