तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकको आर्कषण बन्दै नाटेश्वरी

बाजुरा । बाजुराको बडिमालिका क्षेत्रमा पर्ने पवित्र भूमि नाटेश्वरीमा  दिन प्रतिदिन पर्यटकीय आर्कषण बढ्दै गएको छ । 

त्रिवेणी नगरपालिकाको वडानं.७ को पातल (जङ्गल) क्षेत्रमा पर्ने नाटेश्वरी परिसरमा आधुनिक मन्दिर तथा धर्मशाला सडक सञ्जाललगायत भौतिक संरचना निर्माण गरेपछि धार्मिक एवम् पर्यटकीय भूमि नाटेश्वरीमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको हो ।

सुदूरपश्चिमको धरोहर एवम् त्रिवेणी नगरपालिकाको विकासको आधार मानिएको नाटेश्वरी क्षेत्रमा दिनहुँजसो आन्तरिक तथा वाह्य पर्यटक बढ्दै गएको रत्न माध्यमिक विद्यालय सेलिफालका प्रधानाध्यापक हर्क बहादुर बुढाले बताउनुभयो ।  

विद्यार्थीको लागि त अध्ययन अवलोकन तथा वनभोज स्थलका रूपमा विकास भएको छ । अहिले दिनहुँ विद्यार्थी तथा आन्तरिक पर्यटक आउने गर्छन् प्रअ बुढाले बताउनुभयो । 

सुन्दर रमणीय जङ्गलको बीच फाँटमा करिब सात करोड रुपैयाँ बराबरको लागतमा नाटेश्वरीमाताको नवनिर्मित मन्दिर र पर्यटकलाई वासस्थानको लागि व्यवस्थित धर्मशाला निर्माण गरेसँगै नाटेश्वरीको आर्कषण बढ्दै गएको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाले भन्नुभयो । 

प्राचीन समयदेखि बडिमालिका माताको दर्शन गरी आउने तिर्थालु भक्तजनहरू बास बस्ने थलोका रूपमा नाटेश्वरीलाई लिइन्छ । “स्वर्गकी अप्सरालगायत देवीदेवता त्यही भूःस्वर्गमा आएर नृत्य भजन कीर्तन गर्ने किंवदन्ती छ ।” नृत्य शालाबाट अपभ्रंश हुँदै नाटेश्वरी रहन गएको नगरप्रमुख थापाले भन्नुभयो । त्रिवेणीधाम बडिमालिकाबाट हप्ता दिनको  उच्च हिमाली  पैदलबाटो हिँडेर आउने भक्तालुजनका लागि  विश्रामसहित भजन कीर्तन गर्ने नाट्य थलोका रूपमा  अहिले पनि परिचित छ । 

पछिल्लो समयमा देशभरका आन्तरिक तथा वाह्रय धार्मिक पर्यटकहरू आउने क्रम बढेकोले  नगरपालिकाले तीन करोड रुपैयाँ र प्रदेश संघीय सरकारबाट चार करोड १३ लाख रुपैयाँको ठुलो धनराशि लगानी गरेर सुदूरपश्चिमकै धार्मिक धरोहरका रूपमा निर्माण गरेका छौँ नगरप्रमुख थापाले भन्नुभयो । 

तपोभुमीका रूपमा लिइने उक्त मन्दिरमा भाद्र शुक्ल पूर्णिमा, बडादसैँ र चैत्राष्टमीमा हजारौँको सङ्ख्यामा बोकाबली दिने प्रचलन छ । “मैले भाकल गरेको मनोकांक्षा नाटेश्वरी माताले पुरा गर्नुभयो,  पञ्चबली दिए म मातादेखि म प्रशन्न छु ।” बुढिगंगा नगरपालिका बेलकाटियाँ निवासी नेपाल आयल निगमका लेखा अधिकृत लोकराज तिमिल्सिनाको बुझाई छ ।  

बडिमालिका त्रिवेणी धामसँगै नाट्यश्वरीमा पनि आन्तरिक तथा बाह्य पाहुनालाई सहज होस् भनेर मौरे धामदेखि धल्पुरी, मोतीपानी हुँदै  निगालीसैनसम्म सडक ट्रयाक ओपन गरेको छ  ।  खानेपानीलगायत घेरवार व्यवस्थापन गर्न नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको  छ ।   नाटेश्वरी विकासका लागि नाटेश्वरी विकास कोष सञ्चालन कार्यविधि पास गरी कार्यान्वयनमा रहेको त्रिवेणी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी साहको भनाई छ । 

विस्नुपानी बडिमालिका हुँदै त्रिवेणी धाम र त्रिवेणिदेखि पञ्चपुरी हुँदै छतारा पुग्ने पैदल मार्गको डिपिआर तयार गरी संघ, प्रदेश र पर्यटन विकास बोर्डमा पेश भएको छ, पानीको फोहरा फनपार्क लगायतका संरचना निर्माण गर्ने योजना त्रिवेणी नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।   

धार्मिक महत्वका साथै प्राकृतिक श्रोत साधनाले भरिपूर्ण छ । तर, उपयोगमा ल्याउन सकेका छैनौँ ।  करोडौँ मूल्यको बन पदैवार, जडीबुटी पशुपंक्षी र जङ्गली जनावरले भरिपूर्ण नाटेश्वरी क्षेत्रको भौतिक व्यवस्थापन गर्नसके जिल्लावासीले करोडौँ रुपैयाँ घर आँगनमै कमाउन सक्ने छन् स्थानीय बुद्धिजीवी खेमराज गिरीको भनाई छ । 

प्राकृतिक रूपमा मनोरम हुँदा बाह्रै महिना नाटेश्वरी मन्दिरमा दर्शन तथा अध्ययन अनुगमन गर्ने थलोको रूपमा पहिचान हुन थालेको  नाटेश्वरीका पुजारी पर्वत शाहीको भनाई छ । 

१८७२ देखि सरकारी टोली बडिमालिका हुँदै नाटेश्वरी पुगेर बली दिने प्रचलन छ ।  तत्कालीन राजा महाराजा तथा सेनाले  चढाएका घन्ट र शिलालेखले एक अलौकिक क्षेत्रको धार्मिक महत्व झल्किन्छ । 

बडिमालिकाको पुजारी नेत्रप्रसाद जैशी भन्नुहुन्छ स्कन्दपुराण मानसखण्डका अनुसार कालिका देवीले राक्षसको बद गरिसकेपछि माताको क्रिडास्थल अथवा नृत्यस्थलीका रूपमा नाटेश्वरीको विकास भएको उल्लेख छ । बैद्येनाथ, पञ्चपुरी हुँदै खलाखेत छतारा, बुढिमाई त्रिवेणीमा  जाग्राम बसी स्नान गरी लौरिविनायक  हुँदै बडिमालिका पुग्ने ।   बडिमालिका पुगेको भक्तजनले विष्नुपानी, धल्परी, (ब्रमसार) नाटेश्वरी मालिकेश्वर महादेव मौरे हुँदै दिल्पेश्वर महादेव डोटी पुगेपछि बडिमालिका नाटेश्वरी यात्रा पुरा भएको मान्ने प्रचलन छ  ।

पछिल्लो समयमा कर्णाली प्रदेशले अनुमति नलिएर त्रिवेणी नगरपालिकाको त्रिवेणी पाटनमा भौतिक संरचना निर्माण गर्दा विवाद उत्पन्न भएको छ । गत कार्तिकमा त्रिवेणी नगरपालिकाले आफ्नो भूमिमा बनाएका संरचना हस्तान्तरण गर्न कर्णाली प्रदेशलगायत सम्बन्धित निकायमा पत्राचार गरिसकेको छ ।  सुदूरपश्चिम प्रदेश कै बहु सरोकारको धार्मिक पुरातात्त्विक प्राकृतिक सम्पदा भएको बडिमालिका नाटेश्वरी क्षेत्र संरक्षण सम्वद्र्धन गर्न सबैको पहल हुन आवश्यक छ नगरप्रमुख थापाले भन्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button