तपाईँ सुन्दै हुनुहुन्छः

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङको तयारी अन्तिम चरणमा

default

दैलेख । दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तर्गत अन्तिम ड्रिलिङको तयारी थालिएको छ । 

पेट्रोलियम पदार्थ उत्खनन्का लागि प्रभावित क्षेत्रका रुख कटान गरी अहिले अन्तिम ड्रिलिङको तयारी थालिएको हो । भैरवी गाउँपालिका १ स्थित जलजलेमा अन्तिम ड्रिलिङको तयारी थालिएको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले बताउनुभयो ।

ड्रिलिङका लागि सय बाई सय मिटरको खुला स्थान तयार गर्ने काम भइरहेको र मेसिन जडान गर्न ठाउँ निर्माण भइरहेको अन्वेषण परियोजनाका प्रमुख नापितले बताउनुभयो । एक महिनाभित्र मेसिन जडान गर्न सकिए करिब चार किलोमिटर ड्रिलिङ गरिनेछ । 

तोकिएकै समयमा सडक पूर्वाधार तयार भई उपकरण जडान गर्न सकिए चार महिनाभित्र ड्रिलिङ कार्य सम्पन्न हुने अन्वेषण परियोजनाका प्रमुख नापितको भनाई छ ।

भैरवी गाउँपालिका १ स्थित जलजलेमा कुल २८ घरधुरीको ४५ रोपनी जग्गा अधिग्रहण सम्पन्न भएपछि पूर्वाधार निर्माणले पनि गति लिएको छ । देशकै आर्थिक समृद्धिकोद्वारा खोल्न सक्ने महत्त्वाकाङ्क्षी ठानिएको राष्ट्रिय गौरवको आयोजनाका व्यवधान हटाउन क्याम्प खडा गर्ने, प्लेटफर्म तयार गर्ने, स्थानीयको माग सम्बोधन गर्ने कार्यलाईसमेत सँगसँगै लगिएको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले ड्रिलिङका लागि ठुलो उपकरण ल्याउनका लागि सडकहरू विस्तारको काम सकिएको र अहिले अन्वेषण स्थलमा अन्य कामहरू तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो  । ड्रिलिङका लागि आवश्यक उपकरण चीनको त्यान्जिङ सहरदेखि भारतको कोलकाता बन्दरगाह, नेपालगन्जको जमुनाह नाका, सुर्खेत र कर्णाली राजमार्गको साङ्गेतडा, चामुण्डा बिन्द्रासैनी हँुदै मध्यपहाडी राजमार्ग भएर जलजलेसम्म ल्याइनेछ ।

यसअघि प्राविधिक टोलीले साइस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक, जिओकेमिकल स्याम्पलिङ सर्भे लगायत काम सम्पन्न गरिसकेको छ । अन्तिम प्रतिवेदन अनुसार भण्डारण निश्चित हुनुका साथै प्रचुर मात्रामा भण्डारण र उत्खननको सम्भावना प्रबल रहेको पुष्टि भएसँगै अन्तिम चरणको अन्वेषणात्मक ड्रिलिङ अघि बढाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button