तपाईँ सुन्दै हुनुहुन्छः

प्रेम, बिछोड र वेदनाले भरिएको ‘पर्खी बसेँ तिमीलाई’ ट्रेलर सार्वजनिक 

काठमाडौँ । फिल्म ‘पर्खी बसेँ तिमीलाई’ ट्रेलर सार्वजनिक गरिएको छ ।

पुस २७ गते प्रदर्शन तय गरिएको फिल्म राजाराम बुढाथोकीले निर्माण गर्नुभएको हो भने यसबाट अभिनेता किरण श्रेष्ठसँगै अभिनेत्रीद्वय रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु गर्दैहुनुहुन्छ । निर्देशक दीपक श्रेष्ठले ‘पर्खी बसेँ’ झैँ यसपटक पनि नयाँ अनुहारलाई डेब्यु गराएको जानकारी दिनुभयो । 

‘यो त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र हो । पर्खी बसेँ झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई चलचित्र उद्योगले स्वागत गर्नेमा विश्वस्त छु’, निर्देशक श्रेष्ठले भन्नुभयो । 

वहाँले २७ औँ चलचित्रको रूपमा ‘पर्खी बसेँ तिमीलाई’ मार्फत डेब्यु गर्ने कलाकारको भविष्य उज्ज्वल रहेको बताउनुभयो । सार्वजनिक ट्रेलरमा आकाश (किरण) र आभा (रक्षा) को भेट, बढ्ने सामिप्यता, प्रेम र बिछोडलाई देखाइएको छ । 

निर्देशक श्रेष्ठले नयाँ भएता पनि काममा भने उनीहरू परिपक्क रहेको बताउनुभयो । 

‘वहाँहरूको कामले यो यात्रामा निरन्तरता दिनेमा विश्वस्त छु । अहिलेको पुस्तामा काम प्रतिको लगनशीलता देखेर म झनै खुसी भएँ’, निर्देशक श्रेष्ठले भन्नुभयो । 

निर्माता बुढाथोकीले विना सम्झौता फिल्म तयार गरेको जानकारी दिनुभयो । वहाँले भन्नुभयो,‘यसमा प्रेमसँगै पारिवारिक द्वन्द्वको मिश्रण छ । यो मनोरञ्जनात्मक चलचित्र बनेको छ । स–परिवार हेरेर मनोरञ्जन लिन सक्नु हुनेछ । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाइएको छ ।’

अभिनेत्री रक्षाले आफूले प्रेम कथानक फिल्ममार्फत डेब्यु गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । ‘फिल्ममा लभर गर्लको रूपमा प्रस्तुत भएकी छु । नयाँ भएता पनि टिमले गर्नु भएको सहयोगले मैले आफ्नो काम देखाउने अवसर पाएकी छु । प्रेम प्राप्ति र वियोगलाई व्यक्त गरिएको पात्रमा मलाई दर्शकले पाउनु हुनेछ’,रक्षाले भन्नुभयो ।

अभिनेता किरणले पनि लभ स्टोरीमा प्रस्तुत हुन् पाउँदा खुसी व्यत गर्नुभयो । ‘दीपक सर जस्तो लिजेन्ड निर्देशकको एक्सन कटमा काम गर्न पाए । निकै उत्साहित छु । आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएको छु’, किरणले भन्नुभयो । सार्वजनिक ट्रेलरलाई साहिल खानले सम्पादन गर्नुभएको हो ।

यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाउनुभएको हो ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ । 

यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुङ्गेलको लेखन, सङ्कल्प भुजेलको छायाङ्कन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भूपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायाङ्कन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button