तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षा विधेयक २०८० माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

समितिको आज संसद सचिवालय सिंहदरबारमा बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले ५२ वर्षपछि आएको विद्यालय शिक्षासम्बन्धी विधेयकले राष्ट्रको शिक्षा पद्धति र प्रणालीमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा मन्त्री राईले नियमित बैठक राखेर जतिसक्दो चाँडो विधेयकमाथिको छलफल टुंग्याइदिन समितिसमक्षा आग्रह पनि गर्नुभयो ।

बैठकमा सांसदहरु चन्द्र भण्डारी, देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, विद्या भट्टराई दिपा शर्मा, सरिता भुषाल, डाक्टर तोषिमा कार्की, डाक्टर कालुराम राई लगायतले विधेयकमा शिक्षक दरबन्दी किटान गरिनुपर्ने, शिक्षकहरुका लागि निजामती कर्मचारी सरहको सेवासुविधिा तोकिनुपर्ने, शिक्षकको तलब बढ्दा विद्यालय कर्मचारीको पनि तलब वृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।

सबै राष्ट्रसेवक कर्मचारी, नेता, सांसद र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था नगरेसम्म नेपालको शैक्षिक क्षेत्रमा सुधार नहुने भन्दै सांसदहरुले घोकन्ते विद्याभन्दा प्रश्न गर्नसक्ने, आलोचनात्मक चेत भएका क्षमतावान विद्यार्थी उत्पादन गर्ने व्यवस्था विधेयकले गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

विधेयकले फेरि पनि विनियमावली बनाउने अधिकार कर्मचारीलाई दिएको भन्दै अधिकांश सांसदहरुले विधेयकलाई पुनर्लेखन गरिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button