तपाईँ सुन्दै हुनुहुन्छः

शैलुङमा आयोजित ‘कविता यात्रा– २०८०’ सम्पन्न

दोलखा । साहित्यिक पत्रकार सङ्घले दोलखाको पर्यटकीय केन्द्र शैलुङमा आयोजना गरेको ‘कविता यात्रा– २०८०’ पौष ६ गते शुक्रवार सम्पन्न भएको छ ।

शैलुङको भैँसे बजारस्थित शारदा माविको प्राङ्गणमा विभिन्न कविहरूले कविता बाचन गरेर कार्यक्रमको समापन गरेका हुन् । कविता यात्रा– २०८० को लागि कवि तथा लेखकहरू पौष ४ गते बुधवार शैलुङ पुगेका थिए ।

सङ्घले कविता यात्रा यो पटक दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८, एसएस फाउण्डेशन काठमाडौँ र समाजसेवी शोभित उप्रेतीको आर्थिक सहयोगमा दोलखाको पर्यटकीय केन्द्र शैलुङमा आयोजना गरेको संघका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो ।

कविता यात्रा– २०८० को अन्तिम दिन शैलुङ गाउँपालिका वडा नम्बर– ८ का वडा अध्यक्ष धनबहादुर तामाङको सभापतित्वमा सम्पन्न कविता बाचन कार्यक्रममा मुरारि सिग्देल, राधेश्याम लेकाली, श्रीबाबु कार्की, प्रद्युम्न जोशी, नीता श्रेष्ठ, रुद्र अधिकारी, विनोद नेपाल, नरेन्द्रबहादुर श्रेष्ठ, डा बुनु दाहाल, सुभाषचन्द्र पौडेल, भीमफेदिया, रितु कँडेल, नन्दु उप्रेती, नरहरि प्रेमी, प्रा डा गोविन्दसिंह कार्की, सुजित काफ्ले, सविना भण्डारी, मनिषा कार्की, रेखा अधिकारी, सविना थापा, शिव बुढाथोकी लगायतका कविहरूले कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा एसएस फाउण्डेशनका अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, शैलुङ गाउँपालिकाका उपाध्यक्ष पार्वती थापा, शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरत दुलाल, शैलुङ गाउँपालिका वडा नम्बर– ८ का पूर्व वडा अध्यक्ष रामेश्वर उप्रेती, एसएस फाउण्डेशन दोलखाको संयोजक नवराज खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शुक्रवार नै समाजसेवी शोभित उप्रेतीले प्रदान गर्नुभएको शैलुङ गाउँपालिका वडा नम्बर– ८ कालापानीमा रहेको जग्गामा स्रष्टा घर निर्माणको लागि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले शिलान्यास गर्नुभएको थियो । स्रष्टा घर निर्माणपछि लेखकहरू शैलुङ भ्रमणसँगै स्रष्टा घरमा केही दिन बसेर विभिन्न रचना लेखन गर्न सक्ने र यसले शैलुङको पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने समाजसेवी शोभित उप्रेतीले बताउनुभयो ।

२०३९ सालमा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले २०४० सालबाट कविता यात्रा कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष लेकालीले बताउनुभयो । दोलखाकै पर्यटकीय केन्द्र जिरीमा २०४२ सालमा कविता यात्रा आयोजना गरिसकिएको अध्यक्ष लेकालीले बताउनुभयो ।

सङ्घले शैलुङको यात्रा संस्मरण समेटेर बुक समेत प्रकाशन गर्ने लेकालीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button