तपाईँ सुन्दै हुनुहुन्छः

शैलुङमा ‘कविता यात्रा–२०८०’ को तयारी

दोलखा । दोलखाको पर्यटकीय केन्द्र शैलुङमा आगामी पुष ६ गते ‘कविता यात्रा–२०८०’ आयोजना हुने भएको छ । साहित्यिक पत्रकार सङ्घले विगत ४० वर्षदेखि आयोजना गर्दै आएको कविता यात्रा यो बर्ष दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ मा रहेको पर्यटकीय केन्द्र शैलुङमा गर्न लागिएको संघका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकालीले बताउनु भयो । 

२०३९ सालमा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले २०४० सालबाट कविता यात्रा कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष लेकालीले बताउनु भयो । दोलखाकै पर्यटकीय केन्द्र जिरीमा २०४२ सालमा कविता यात्रा आयोजना गरिसकिएको अध्यक्ष लेकालीले बताउनु भयो । दोलखामा हामी कविता यात्रालाई दोस्रो पटक ल्याउदैछौ संघका अध्यक्ष लेकालीले भन्नु भयो ।

साहित्यकारले देशको परिस्थिति, नागरिकको अवस्थिति, प्राकृतिक सुन्दरता, जनजीवन जस्ता सबै विषयको प्रत्यक्ष अनुभव गर्न सकेको अवस्थामा अझ उत्कृष्ट रचना आउनसक्ने विश्वास सहित साहित्यिक पत्रकार सङ्घले साहित्यकारहरूलाई देशको विभिन्न ठाउँमा पु¥याउन कविता यात्राको सुरुवात गरेको लेकालीले बताउनु भयो । ‘कविता यात्रा– २०७९’ इलाममा आयोजना गरिएको सङ्घले जनाएको छ ।

‘कविता यात्रा– २०८०’ को लागि श्रीओम रोदन, रामप्रसाद पन्त लगायत झण्डै २० जना साहित्यकारहरू पुष ४ गते शैलुङ पुग्ने, पुष ५ गते शैलुङका सय थुम्का र महादेव, धर्मढोका लगायतका धार्मिक एवं पर्यटकीय स्थलहरूको भ्रमण गर्ने र पुष ६ गते शैलुङमा कविता बाचन कार्यक्रम आयोजना गरिने साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले बताउनु भयो ।

कार्यक्रम आयोजनाको लागि शैलुङ गाउँपालिका वडा नम्बर– ८ र एसएस फाउण्डेशनका संरक्षक समाजसेवी शोभित उप्रेतीले आर्थिक लगायतका सहयोग उपलब्ध गराउने अध्यक्ष लेकालीले बताउनु भयो । ‘कविता यात्रा–२०८०’ मा सहभागी साहित्यकारहरूले शैलुङको भ्रमणपछि संस्मरण लेख्ने र त्यसलाई समेटेर किताब समेत प्रकाशन गर्ने योजना रहेको अध्यक्ष लेकालीले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button