तपाईँ सुन्दै हुनुहुन्छः

पञ्चासेमा कोदो महोत्सव हुने

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित सुन्दर पर्यटकीय गाउँ भदौरेमा यही पुष ५ देखि ९ गते सम्म ‘२५ औँ भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा रजत जयन्ती, तमु ल्होसार, कोदोको परिकारको प्रवर्द्धन तथा फुटबल र नृत्य प्रतियोगिताका साथमा मनोरञ्जनात्मक कार्यक्रम हुनेछ ।

भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगीको भूमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको महोत्सव संयोजक विश्वदल गुरुङले जानकारी दिनुभयो ।

महोत्सव अवलोकन गर्न आउने पाहुनालाई मनोरञ्जन गराउनका लागि खेलकुद तथा सांस्कृतिक कार्यक्रमका साथमा विशेष नृत्य प्रस्तुत गरिने भदौरे क्लबका अध्यक्ष अनिल गुरुङले जानकारी दिनुभयो । सुन्दर गाउँ अवलोकन गरि यसै ठाउँमा बस्न चाहनेका लागि होमस्टेको समेत व्यवस्था रहेको उहाँले बताउनुभयो ।

महोत्सवको साथमा भदौरेबाट पञ्चासे पर्यावरणीय पदयात्रा, होमस्टे, पञ्चासे योगा तथा मेडिटेसन, पञ्चासे ईको क्याम्प सानो घर आवास, पञ्चासे जङ्गल सफारी, फरेस्ट थेरापी तथा जङ्गल भ्रमणको अनुभव लिन सकिने पञ्चासे क्षेत्र विकास समितिका प्रवक्ता नवराज पौडेलले जानकारी दिनुभयो ।

महोत्सवमा हुने ७ ए साइड फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १ लाखका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टिमले नगद ६० हजार रुपैयाँका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै सेमिफाइनलसम्म मात्र पुग्ने टिमलाई २०–२० हजार रुपैयाँका दरले सम्मान गरिनेछ ।

पर्यटक आवासको लागि भदौरे गाँउमा होटेल तथा होमस्टेहरू सञ्चालित रहेका छन् । अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा रहेको भदौरे गाउँ पोखरादेखि ३० किलोमिटर पश्चिममा रहेको छ । पञ्चासेको काखमा रहेको सो गाउँ आन्तरिक र बाह्य पर्यटकको एक आकर्षक स्थल पनि हो ।

सयौँ प्रजातिका सुनाखरी पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठुलो क्षेत्र यसै गाँउमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाउँलाई चिनिन्छ । मेला स्थलबाट अन्नपूर्ण हिम शृङ्खला अन्तरगत निलगिरी, धौलागिरि, माछापुच्छ्रे लगाएतका हिमालहरू प्रस्ट रुपमा देख्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button