तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको अर्थतन्त्रमा केही समस्या छ : अध्यक्ष नेपाल

पोखरा । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको अर्थतन्त्रमा केही समस्या भएको बताउनुभएको छ । 

समाजवादी प्रेस सङ्गठन नेपाल, कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले देशको अर्थतन्त्रमा समस्या भएका कारण धेरै व्यवसाय समस्याग्रस्त भएको उल्लेख गर्नुहुँदै ब्याजदर घटाउने, ऋण चुक्ता गर्ने समय अवधि बढाउनुपर्ने, कर्जामा सहुलियत दिने विषयमा सरकारले बृहत् छलफल गर्नुपर्ने बताउनुभयो । 

उहाँले अर्थतन्त्रलाई सुधार गर्ने विषयमा सरकारले अविलम्ब कदम चाल्नुपर्ने भन्नुहुँदै नेपालको अर्थतन्त्रमा सुधारका लागि प्रधानमन्त्रीले अझ बढी गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । 

उत्पादनसँग जोडिएको अर्थतन्त्र भएमा दिगो अर्थतन्त्र हुने भन्नुहुँदै अध्यक्ष नेपालले नेपाललाई कृषिमा आत्मनिर्भर बन्ने विषयमा कृषि विज्ञहरूसँग छलफल गरी ठुलो क्षेत्रमा कृषि उत्पादन गर्नुपर्ने बताउनुभयो ।

उहाँले रोजगार, सुशासन र समृद्धि पार्टीको अभियान रहेको उल्लेख गर्नुहुँदै भ्रष्टाचार र अनियमितताको अन्त्य गर्ने विषयमा आफ्नो पार्टी गम्भीर रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button