तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार विरुद्ध नेपालगञ्जमा वाकाथन(फोटो फिचर)

नेपालगञ्ज। भ्रष्टाचार विरुद्ध नेपालगञ्जमा वाकाथन गरिएको छ । भ्रष्टाचार विरुद्धको आवाजलाई सशक्त बनाउँदै सुशासन प्रबद्र्धनका लागि दबाब सिर्जना गर्न तेस्रो नेपालगञ्ज वाकाथन गरिएको हो ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बागेश्वरी असल शासन क्लब (बास) ले वाकाथन गरेको हो । ‘भ्रष्टाचार विरुद्ध एक साथ हिँड्नेछ-बाँके’ भन्ने नाराका साथ तेस्रो नेपालगञ्ज वाकाथन सम्पन्न भएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो । नेपालगञ्ज वाकाथनमा ह्विल चियर प्रयोगकर्ताहरूले पनि सहभागिता जनाएका छन् ।

नेपालगञ्जको गणेशमान चोकबाट सुरु भएको वाकाथन धम्बोझी चोकमा पुगेर समापन भएको थियो । वाकाथनमा नेपाल प्रहरीको ब्याण्ड बाजा, विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी, पर्चा, पम्प्लेट वितरण समेत गरिएको थियो । वाकाथनका सहभागीहरूले नेपालको झण्डा र भ्रष्टाचार विरुद्धका सन्देशसहितका प्ले-कार्ड बोकेका थिए । वाकाथनमा नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल लगायत ठूलो सङ्ख्यामा स्वतःस्फूर्त सहभागिता रहेको कार्यकारी निर्देशक शाहले बताउनुभयो ।

संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button