तपाईँ सुन्दै हुनुहुन्छः

सुस्तामा सरोकारवालासँग रेडियो नेपालको अन्तरक्रिया

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीको सुस्ता गाउँपालिका र रेडियो नेपालबीच अन्तक्रिया कार्यक्रम मङ्गलबार गाउँपालिका प्राङ्गणमा सम्पन्न भएको छ ।

मुलत स्सुस्ता गाउँपालिकामा स‌ंचालित आयोजना,गतिविधि,स्वास्थ्य,शिक्षा ,कृषि पर्यटन ,सामाजिक सांस्कृतिक विषय एवम् सिमाका नागरिकले भोगेका सास्तीका बिषयवस्तुलाई केन्द्रबिन्दुमा राखेर रेडियो नेपालले सरोकारवाला बीच अन्तरकृया गरेको हो ।

कार्यक्रममा बोल्दै सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले संघ र प्रदेश सरकारबाट सुस्ता गाउँपालिकामा सहयोगको अनुभूति नभएको बताउनुभयो । पालिकाले स्वास्थ्य,शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनु हुँदै उहाँले राज्यको स्पष्ट नीतिको अभावमा किसानले समयमै मल नपाउने र निश्चित कोटा निर्धारण हुँदा किसान थप मर्कामा परेको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले अहिले पालिकाबाट प्रवाह हुने सेवा सुविधालाई सहज र पारदर्शीरुपमा अगाडि बढाइएको बताउँदै नागरिकलाई सहज रुपम सेवा प्रदान गर्न विभिन्न उपायहरू अवलम्बन गरिनेमा जोड दिनुभयो ।

केरा उत्पादक संघका जिल्ला अध्यक्ष लख्खु यादवले समयमै मल र बीउ बिजनको अभाव एवं भारतीय केरा सहजै नेपाल भित्रँदा यहाँका किसानलाई बजारीकरणको चुनौती रहेको कार्यक्रममा बताउनुभयो । किसानले उत्पादन गरेको केरा बारीमै कुहिने अवस्था आउने र अर्कातिर किसानको बिक्री भएका केराको लामो समय करोडौँ रकम उठ्न बाकी रहेकाले किसान विस्थापित हुने अवस्था आएको यादवको भनाई थियो । यस विषयमा सम्बन्धित निकायले चासो नदिएको यादवको गुनासो छ ।

अन्तरक्रिया कार्यक्रममा सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जैसवालले सुस्ता पारिका नागरिक राज्यको नजरबाट सधैँ सिमान्तकृत रहेको बताउँदै सरकारले त्यहाँका नागरिकलाई गैरनेपाली सरह हेरेको आरोप लगाउनुभयो । ‘सुस्ताका नागरिकलाई न अहिलेको नागरिकता ऎनले छोयो,अतिक्रमित भूमिको रक्षा गरेर बसेका यहाँका नागरिकले नेपाली हुनुको अनुभूति नै गर्न पाएका छैनन्’,जैसवालको गुनासो थियो ।

कार्यक्रममा स्थानीय पत्रकार,विभिन्न संघ संस्थाका प्रतिनिधि,सरोकारवाला एवम् सुरक्षा निकायहरूको उपस्थिति रहेको थियो । सुस्ताका विविध समस्या, खुला सिमाका कारण देखिने सुरक्षा चुनौती,डुबान लगायतका मुद्दाहरूमा खुला बहस राखिएको थियो । स्थानीय स्थलमै पुगेर रेडियो नेपालले सो कार्यक्रम आयोजना गरेको हो । सुस्ताका अधिकांश समस्या,यहाँका नागरिकका आवाजलाई रेडियो नेपालले प्राथमिकताका साथ उठाउँदै आइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button