तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन

काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ । 

आज यहाँ लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको संयुक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समीरलाई ‘समिर अभिनन्दन समारोह’मार्फत अभिनन्दन गरिएको हो । 

विश्वमा सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउनुभएका समीरले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेख्नुभएको छ ।

सो समारोहमा गीतकार समीरले प्रकृतिको अनुपम सुन्दर देश, पशुपतिनाथको यस भूमिमा आएर सम्मानित हुन् पाउँदा आफू निकै प्रफुल्लित भएको बताउनुभयो । हिमाल र पहाड बिचबाट काठमाडौँ उत्रिने क्रममा एउटा गीत फुरेको अनुभूति सुनाउँदै नेपालबाट आफूले धेरै सिकेर जाने बताउनुभयो । 

अहिलेसम्म आफूले धेरै सम्मान पाएको तर जसले गीतकारको पीडा दुःख बुझेको छ उसकै सम्मान पाउँदा खुसी महसुस गरेको भन्दै उहाँले  गीतकार सङ्घ नेपाललाई धन्यवाद दिनुभयो । 

सो अवसरमा गीतकार तथा साहित्यकार बसन्त चौधरीले समिर अन्जानको नाम साङ्गीतिक क्षेत्रमा निकै चर्चित रहेको बताउनुभयो । हिन्दी चलचित्र र  गीत मन पराउने सबैले उहाँलाई मन पराउने उहाँको भनाइ थियो । 

गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले सङ्घले विभिन्न समयमा गीतकारको सम्मान गर्दै आएको भन्दै यसपटक समिर अन्जानलाई अभिनन्दन गर्ने अवसर प्राप्त भएको र सो अवसरका लागी लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरलाई धन्यवाद दिनुभयो । 

गीतकार समीरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धड्कन मे’ लगायतका गीत लोकप्रिय छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button