तपाईँ सुन्दै हुनुहुन्छः

छठ पर्व अन्तर्गत आज साझ खरना विधि सम्पन्न

जनकपुरधाम । छठ पर्व अन्तर्गत आज साझ खरना विधि सम्पन्न भएको छ ।

व्रतीहरू दिनभर निराहार बसेर साँझ आफैँले तयार पारेको खखरको खीर, पुरी, केला, मिठाई छठी मैयाँलाई अर्पण गरेर प्रसादको रुपमा वितरण गर्नुका साथै नुनरहित खरना खाएका छन् ।

आज राति व्रतीले खाएको नुनरहित खानापछि करिब ४८ घण्टा भन्दा बढ समयसम्म निराहार बस्ने गर्दछन् । छठ अन्तर्गत भोली बिहानदेखि नै प्रसादहरू छठ घाटमा लखेर राखिने र साँझ अस्ताउन लागेको सूर्यलाई पहिलो अर्घ दिने कार्यक्रम रहेको छ ।

पर्सि बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिएर छठ व्रतको विधिवत् रुपमा समापन गरिन्छ । सोही दिन व्रतीले ४८ घण्टाको कठोर उपवासपछि खाना खाने गर्दछन् जसलाई परना भनिन्छ ।

विश्व शान्ति, मानव कल्याणका साथै परिवार जनको खुसी, शान्ति, समृद्धि, सन्तान प्राप्ति तथा निरोगिताको कामनासहित छठ पर्व मनाउने चलन रहेको छ । चार दिनसम्म मनाइने छठ पर्वको आज देखि पर्सीसम्मको विधि नै मुख्य विधिको रुपमा रहेको छ ।

यसै बीच जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वका पोखरीको सरसफाई, पण्डालको निर्माणका साथै बिजुली बत्ती जडान गरेर झकिझकाउ बनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button