तपाईँ सुन्दै हुनुहुन्छः

बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला रहने

काठमाडौँ । हरेक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबिचको बालगोपालेश्वर मन्दिर बुधबार बिहानैदेखि खुल्ने भएको छ । भाइटीकाका अवसरमा बुधबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

मन्दिर वर्षमा एक दिन भाइटीकाका दिन मात्र खुल्ने भएकाले त्यसका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबिचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ मा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button