तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा सयपत्री फूलको एक सय ५० मै माला (फोटोफिचर) 

पोखरा । यसपाली पोखरा क्षेत्रमा करिब १ सय ५० रुपैयाँमा सयपत्री फूलको माला उपलब्ध भएको छ । कुनै समय फूलको माग अत्यधिक हुँदा प्रति माला ५ सय भन्दा बढी समेत पर्ने गरेको पोखरामा यस बर्ष भने करिब १ सय देखि २ सय रुपैयाँमा ठूलो देखि मध्यम हुँदै सानो माला उक्त मूल्यमा बिक्री भएको व्यवसायीहरूले बताउनुभएको छ । 

स्थानीय उत्पादनको प्रबद्र्धन गर्न पोखरामा पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रा.ली.को साझेदारीमा हाटबजार सञ्चालन भएसँगै स्थानीय उत्पादन भएको फूलको बिक्री वितरण हुँदै छ । उक्त मेलाले आम उपभोक्ता र किसान बिच प्रत्यक्ष भेटघाट हुने हुँदा बिचौलियाले खासै नाफा खान नपाउने भएको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनु भयो । 

उक्त मेलामा करिब एक सय वटा सयपत्री फूल सहितको स्थानीय उत्पादनका कृषि उपजका सामानहरूको स्टलहरू रहेको श्री कम्प्लेक्स प्रा.ली.का अध्यक्ष झलकलाल श्रेष्ठले बताउनु भयो । पोखराको इतिहासमै पहिलो पटक फूलको व्यापार एकै ठाउँमा भएकोले गर्दा आम उपभोक्ता यसबाट प्रत्यक्ष लाभ लिन सक्ने भएको उहाँले दाबी गर्नु भयो । पुष्प व्यवसायी देखि विद्यार्थी, शिक्षक लगायतले फूल खेती गर्नु भएको छ । 

रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकारहरू (सेल रोटी, झिलिङ्गा, चिनिरोटी), स्थानीय स्तरमा उत्पादित खाद्य वस्तुहरू कोदो, मकै, गहुँ, फापर लगायत तरकारी जन्य वस्तुहरू बिक्रीका लागि राखिने प्रमुख कडरियाले बताउनुभयो । भोलि (मङ्गलवार) सम्म सयपत्री फुल मेला–२०८० हुने भएको हो । 

पोखरा महानगरपालिकाले स्थानीय कृषकहरूसँग साझेदारी गरेर १६५ रोपनी भन्दा बढी क्षेत्रफलमा सयपत्री फुल लगाइएको छ, कडरियाले भन्नुभयो, यसपालिको तिहारमा सयपत्री फुल पोखरामा बाहिरबाट ल्याउनु पर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ ।” महानगरपालिकाले सयपत्री फुलको दररेट समेत तोकेको छ । 

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय कृषकहरूको समन्वयमा फुलको रेट तोकिएको हो । दररेट अनुसार सयपत्री फुलको १५ देखी २० ग्रामको एक थुङ्गालाई रु.५, १० देखी १५ ग्राम तौल भएको एक थुङ्गाको मूल्य रु.४ र ५ देखी १० ग्रामको रु.२ तोकिएको छ । यस्तै मालाको क्रमशः रु.२००, १८० र १५० तोकिएको छ भने, प्रतिकेजी रु.४०० रुपैयाँ सयपत्री फुलको मूल्य निर्धारण गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button