तपाईँ सुन्दै हुनुहुन्छः

दशैंमा चितवन राष्ट्रिय निकुञ्जद्वारा करिब दुई करोड राजश्व सङ्कलन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले दशैंको अवधिमा पर्यटक प्रवेश शुल्कबापत एक करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ । बडादशैंको घटस्थापनादेखि पूर्णिमासम्म १४ दिनको अवधिमा निकुञ्जले एक करोड ८५ लाख ४४ हजार ९५० रुपैयाँ राजस्व सङ्कलन गरेको हो । दुई हप्ताको अवधिमा सङ्कलन भएको उक्त राजस्व अहिलेसम्मकै धेरै भएको निकुञ्जले जनाएको छ ।

सो अवधिमा चितवन आएकामध्ये २० हजार ७०७ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । स्वदेशी पर्यटकबाट निकुञ्जले १९ लाख ८४ हजार ९५०, तेस्रो मुलुकका पर्यटकबाट एक करोड २० लाख ९६ हजार, सार्क मुलुकका पर्यटकबाट सात लाख ७९ हजार र जिप सफारीबाट ३६ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिनुभयो ।

मुलुकको तेस्रो पर्यटकीय गन्तव्य मानिएको सौराहाबाट १२ हजार ५५८ स्वदेशी पर्यटक, चार हजार ५४३ विदेशी पर्यटक, ५६३ सार्क मुलुकका पर्यटक र ४४० जना अन्य पर्यटकले जिप सफारीका लागि टिकट काटेर निकुञ्ज प्रवेश गरेका छन् । कसराबाट ३०८ जना स्वदेशी पर्यटक, ७६६ जना विदेशी पर्यटक, १०४ जना सार्क मुलुकका पर्यटक र १६४ जना अन्य पर्यटकले जिप सफारीका लागि टिकट काटेर निकुञ्ज प्रवेश गरेका हुन् ।

यसैगरी मेघौलीबाट २७७ जना स्वदेशी पर्यटक, ५०५ जना विदेशी पर्यटक, १०९ जना सार्क मुलुकका पर्यटक र १११ जना अन्य पर्यटकले जिप सफारीका लागि टिकट काटेर निकुञ्ज प्रवेश गरेका छन् । माडी क्षेत्रबाट १३ जना स्वदेशी पर्यटक, १९ जना विदेशी, तीन जना सार्क र चार जना जिप सफारी, अमलटारीबाट ५३ जना स्वदेशी, २१३ जना विदेशी र १६ जना अन्य पर्यटकले जिप सफारीका लागि निकुञ्जको टिकट काटेर प्रवेश गरेको निकुञ्जले जनाएको  छ ।

यस्तै कुजौलीबाट २४ जना स्वदेशी, दुई जना विदेशी पर्यटकले जिप सफारीमार्फत निकुञ्ज अवलोकनका लागि टिकट काटेका  छन्  । सौराहालाई प्रमुख गन्तव्य बनाएर चितवन आएका कुल पर्यटकमध्ये करिब ४० प्रतिशतले मात्र निकुञ्ज अवलोकन गर्ने गरेको तथ्याङ्क सार्वजनिक हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button