तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णनगरमा शान्ति सुव्यवस्था कायम गर्न समिति गठन, भोलिदेखि मदिरा बिक्री वितरणमा रोक

कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले विजया दशमीको अवसरमा हुने दुर्गा मूर्ति बिसर्जन कार्यलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न समिति गठन गरेको छ । कृष्णनगर क्षेत्रमा धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरि शान्ति सुव्यवस्था कायम गर्नका लागि समिति गठन गरिएको हो । नगर प्रमुख रजत प्रताप शाहको संयोजकत्वमा ९ सदस्यीय ‘कार्यकारी सद्भाव समिति’ गठन गरिएको जनाइएको छ ।  

नगरपालिकाले मूर्ति विसर्जनको ३ दिन अगाडिदेखि अर्थात् ५ गते (भोलि) आइतबारदेखि ७ गते मङ्गलवार राति १२ बजेसम्म मदिरा बिक्री वितरण तथा सेवनलाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो । 

गठित समितिले मूर्ति विसर्जनको समयमा मूर्ति बिसर्जन समिति र कार्यकारी सद्भाव समितिका सम्पूर्ण पदाधिकारीहरूले कार्यस्थलमा खटिई सामाजिक सद्भाव, आपसी भाइचारा लगायत शान्ति सुरक्षा पूर्ण रुपमा कायम गर्ने, कुनै पनि अवाञ्छनीय गतिविधि हुन नदिने निर्णय गरेको छ ।   

यसैगरि मूर्ति बिसर्जन मूल समितिको काम कारवाहीको रेखदेख, सहजीकरण तथा सल्लाह सुझाव दिनुको साथै आवश्यक समन्वय गर्ने निर्णय गरिएको जनाइएको छ  ।

मूर्ति विसर्जनको दिन अति आवश्यक सेवा (बिरामीको औषधी उपचार, एम्बुलेन्स सेवा) बाहेक मङ्गलवार बिहान ९ बजेदेखि १२ बजेसम्म बोर्डर बन्द रहने जनाइएको छ । 

नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षता र प्रतिनिधि सभा सदस्य सराज अहमद फारुकी, पूर्व प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, प्रहरी उपरीक्षक नवरत्न पौडेल लगायत सरोकारवालाहरूको उपस्थितिमा दुर्गा मूर्ति बिसर्जन कार्यलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न ‘कार्यकारी सद्भाव समिति’ गठन गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button