तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्वहरूमा यातायात व्यवस्थालाई प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौँ । दिगो विकास तथा सुशासन समितिले दशैं, तिहार, छठलगायतका चाडपर्वहरूमा यातायात व्यवस्थालाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई  निर्देशन दिएको छ ।

बैठकले चाडपर्वको समयमा राजमार्ग लगायतका क्षेत्रहरूमा ट्राफिक व्यवस्थालाई थप प्रभावकारी बनाउन, सहज रुपमा टिकट प्राप्त गर्ने व्यवस्था गराउन र सीट अनुसार यात्रुको सङ्ख्या बढी भए नभएको अनुगमन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति प्रकाश पन्थले जानकारी दिनुभयो ।

समितिले बजारमा सामानको कृत्रिम अभाव एवं कालोबजारी नियन्त्रण गर्न र शान्ति सुरक्षालाई मजबुत बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

सबै विमानस्थलहरूमा हवाई यात्रालाई सहज, नियमित, सुरक्षित एवं प्रभावकारी बनाउन, हवाई टिकटमा भएको मूल्यवृद्धि नियमन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिइएको सभापति पन्थले बताउनुभयो ।

समितिले दुर्गम स्थानहरूमा समेत सुपथ मूल्य पसल विस्तार गर्न, गुणस्तरीय खाद्यवस्तुको प्रयोग तथा स्वास्थ्य सम्बन्धी सचेतनाको सूचना प्रवाह गर्न र राजमार्गका होटलहरुमा खाद्यपदार्थको मूल्य र गुणस्तरको अनुगमन कार्यलाई चुस्त दुरुस्त एवं प्रभावकारी बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button