तपाईँ सुन्दै हुनुहुन्छः

‘बाल सुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील छ’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बाल सुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

हाल विराटनगर, वीरगञ्ज, मकवानपुर, डोटी, भक्तपुर, पोखरा, नेपालगञ्ज र भैरहवामा सञ्चालित बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका रहेकाले त्यसको व्यवस्थापनमा सरकार क्रियाशील रहेको मन्त्री आचार्यले बताउनुभयो । राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उहाँले बाँकेको नौवस्तामा सुधारगृह व्यवस्थापनको काम भइरहेको बताउनुभयो ।

सुधार गृहका बालबालिकाका लागि कक्षा १० सम्म अध्यापन स्वीकृति प्राप्त भएको, बाल सुधार गृहमा मनोसामाजिक विमर्श व्यवस्थाका लागि केन्द्रीय बाल न्याय समितिबाट बजेटको व्यवस्था गरिएको, बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार मुद्दा दर्ता भएको मितिले एक सय २० दिनभित्र किनारा लगाउनुपर्ने व्यवस्था कार्यान्वयनको प्रयास भइरहेको मन्त्री आचार्यले जानकारी दिनुभयो ।

मङ्गलादेवी सिंह र साहना प्रधानको नाममा स्थापित ‘मङ्गला–साहना पुनःस्थापना केन्द्र’बारे सोधिएको प्रश्नको जवाफ दिँदै मन्त्री आचार्यले भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नाममा रहेको आठ रोपनी १० आना जग्गाको प्रमाण पुर्जा प्राप्त भएको जानकारी दिनुभयो । सो जग्गामा आर्थिक वर्ष २०७८/७९ मा सहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी तारबार समेत लगाइएको उहाँले बताउनुभयो । सो जग्गामा भवन निर्माणका लागि एसियाली विकास बैङ्क (एडिबी)सित सम्झौता भइसकेको मन्त्री आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button