तपाईँ सुन्दै हुनुहुन्छः

मुस्ताङमा भेडा–च्याङ्ग्राको स्वास्थ्य परिक्षण गर्न सुरु 

पोखरा । हिमालपारिको जिल्ला मुस्ताङमा हुर्काइएका भेडा च्याङ्ग्राको स्वास्थ्य परिक्षण गर्न सुरु भएसँगै दशैं पर्व लक्षित गरी पोखरा तर्फ भेडा च्याङ्ग्रा ल्याउन सुरु भएको छ । स्थानीय किसानहरुले हुर्काएका भेडा च्याङ्ग्रा यस वर्षको लागि बिक्री गर्ने उद्देश्यले मुस्ताङबाट बाहिरिने भेडा च्याङ्ग्राको स्वास्थ्य परिक्षण गरेर मात्र पठाउन सुरु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका डा.लालमणि अर्यालले बताउनु भयो । 

हिजोदेखि सुरु भएको भेडा च्याङ्ग्राको स्वास्थ्य परिक्षण हालसम्म करिब २ सय ५० वटाको गरिएको छ । ४/५ समूहमा गरिएको उक्त भेडा च्याङ्ग्राको स्वास्थ्यको हालको अवस्था राम्रै भए पनि केही दिन पानी परेकोले लेकबाट बेसीमा झार्दै पोखरा लगायतका स्थानमा पुग्दा केही भेडा च्याङ्ग्राको नाकबाट सिँगान आउन सक्ने डा.अर्यालले बताउनु भयो । उहाँका अनुसार पहिलो चरणमा गरिएको भेडा च्याङ्ग्रा निकै राम्रा पुष्टिका रहेका छन् । 

मुस्ताङको जोमसोमबाट म्याग्दी हुँदै पोखरा, काठमाण्डौं, चितवन लगायतका क्षेत्रमा दशैं पर्व लक्षित हुने गरी यस बर्ष करिब ८ हजार भेडा च्याङ्ग्रा बिक्रीको लागि मुस्ताङबाट बाहिरिने भएको व्यवसायीहरू बताउनु हुन्छ । स्थानीय किसानहरुले हुर्काएका भेडा च्याङ्ग्रा यस बर्ष करिब ८ हजार वटा मुस्ताङबाट बिक्री वितरण हुने भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका निमित्त कार्यालय प्रमुख ऋषिराम पोखरेलले बताउनु भयो । उहाँका अनुसार यस बर्ष मुस्ताङबाट करिब ४ हजार र ४ हजार जसो डोल्पा क्षेत्रमा उत्पादन भएका भेडा च्याङ्ग्रा मुस्ताङ हुँदै अबको केही दिनमा पोखरा सहितको बजारमा पुग्ने छन् ।

यस वर्षको भेडा च्याङ्ग्राको मूल्यको विषयमा हाल मुस्ताङको कोरोना नाका दशैं अगाडि नै खुल्ने वा नखुल्ने त्यसमा भर पर्ने भएको छ । यदि मुस्ताङको कोरोना नाका खुल्ला भई केही भेडा च्याङ्ग्रा नेपाल भित्रिने सम्भावना रहेमा केही सहुलियतमा भेडा च्याङ्ग्रा उपलब्ध हुने भएको छ भने अन्यथा गत वर्षकै मूल्यजस्तो पर्ने भएको व्यवसायीहरूले बताउनु भएको छ । गत बर्ष सुरुमा करिब ४५ हजार देखि केही दिन पछि पोखरा सहितको क्षेत्रमा २५/३० हजारमा प्रति भेडा च्याङ्ग्रा बिक्री भएको थियो । 

पछिल्लो समयमा मुस्ताङ क्षेत्रमा पर्यटकहरूको आगमन राम्रो भएसँगै भेडा च्याङ्ग्राको मुस्ताङमै पनि राम्रो खपत हुन थालेकोले दशैं तिहारको अवसरमा पोखरा लगायतका क्षेत्रमा आफूहरूले पालन गरेका भेडा च्याङ्ग्रा केही कम पठाउन थालिएको मुस्ताङका एक भेडा च्याङ्ग्रा व्यवसायी आङग्याल गुरुङले बताउनु भयो । उपल्लो मुस्ताङ (लोमाङथाङ) का गुरुङले यस बर्ष करिब ६ सय वटा भेडा च्याङ्ग्रा पालना गरे पनि दशैं पर्व लक्षित गरी २ सय ५० वटा मात्र बिक्री गर्ने योजना बनाउनु भएको छ । अबको करिब एक हप्तामा पोखरामै भेडा च्याङ्ग्रा आउने भएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button