तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री कार्कीद्वारा राजीनामा 

विराटनगर I कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

कोशी प्रदेशसभाको आजको बैठकमा उहाँले राजीनामाको घोषणा गर्नुभएको हो । 

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री कार्कीले यही असोज १७ गते विश्वासको मतका लागि कोशी प्रदेशसभाको सचिवालयमा प्रस्ताव दर्ता गराउनु भएको थियो । कोशी प्रदेशसभाको आजको बैठकमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि मुख्यमन्त्री कार्कीले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । 

मुख्यमन्त्री कार्कीले नेकपा (एमाले) संविधानको सर्वोच्चताको पक्षमा जहिले पनि उभिने प्रतिबद्धता व्यक्त गर्दै कोशी प्रदेशका जनताले निर्वाचन नचाहेकाले राजीनामा दिएको उल्लेख गर्नुभयो । उहाँले अहिलेको नजिर र जटिलताको नजरअन्दाज भएमा मध्यावधीमा जाने निश्चित रहेको उल्लेख गर्दै निर्वाचनलाई रोक्न तथा स्थिर सरकार बनाउन राजनीतिक दलहरूबिच सहमति सहकार्य र एकता हुनु आवश्यक छ भन्नुभयो । 

कोशी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले सहमति र सहकार्य गरेर नै सरकार बनाउनु उत्तम विकल्प भएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । मुख्यमन्त्री कार्कीले गत भदौ २२ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । कोशी प्रदेशसभामा नेपाली काँग्रेसका २९, नेकपा (एमाले) का उपसभामुखसहित ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार, जसपा एक र राप्रपाका ६ प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button