तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपतिसँग जर्मनी राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले शिष्टाचार भेट गर्नुभएको छ । आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उहाँहरूबीच नेपाल–जर्मनीबिचको कूटनीतिक सम्बन्धमा विषयमा छलफल भएको थियो ।

सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् नेपाल र जर्मनीबिचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको र नेपालले यस सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो ।

उपराष्ट्रपति यादवले कोभिड–१९ सङ्क्रमणको समयमा सहयोग प्रदान गरेकोमा जर्मन सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

सो अवसरमा राजदूत प्रिन्जले नेपालको शान्ति र राजनीतिक स्थायित्वका लागि जर्मनीले निरन्तर सहयोग गर्दै र ऊर्जा, पर्यटन, उद्योग लगायतका क्षेत्रको विकासमा मद्दत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले ८० नेपालीलाई व्यावसायिक प्रशिक्षणका लागि जर्मनी लगेको जानकारी दिँदै उहाँले यो क्रम आगामी दिनमा पनि जारी राख्दै यो सङ्ख्या पाँच सयसम्म पुर्‍याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button