तपाईँ सुन्दै हुनुहुन्छः

दुईतर्फी नाका खुलेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलन बढ्यो

सिन्धुपाल्चोक । उत्तरी व्यापारिक तातोपानी नाकाबाट चिनियाँ सामाग्रीको आयात बढेको छ । आयात बढेसँगै राजश्व सङ्कलनमा पनि गुणात्मक वृद्धि भएको छ ।

गत वैशाख १८ गतेबाट दुईतर्फीरुपमा नाका सञ्चालन आएसँगै दैनिक ३० कन्टेनर चिनियाँ सामाग्री नेपाल भित्रिने गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । मासिक राजश्व सङ्कलनमा १ सय ७० प्रतिशतले वृद्धि भएको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्षको सावन र भदौ दुई महिनामा मात्र १ अर्ब ३८ करोड रुपैयाँ राजश्व सङ्कलन भएको प्रमुख केसीले जानकारी दिनुभयो । गत आर्थिक वर्षको ६ महिनामा सङ्कलित राजश्व बराबर यो वर्ष दुई महिनामा नै सङ्कलन भएको हो । 

गत वैशाख १८ गते अघि दैनिक ३/४ कन्टेनर सामान मात्र नेपाल भित्रने गरेको थियो । पछिल्लो समय चीनले विना रोकटोक नेपालतर्फ सामान पठाउन थालेसँगै आयातमा वृद्धि भएको हो । आयातमा सहजता आउने हो भने यो वर्ष भन्सार कार्यालयले राजश्व सङ्कलनको लक्ष्य पुरा गर्ने प्रमुख केसीको विश्वास छ । यो वर्ष ४ अर्ब ८० करोड राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेको छ ।

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प, त्यस लगत्तैको भोटेकोसी बाढी र कोरोना महामारीका कारण विगत आठ वर्षदेखि नाका ठप्पप्राय रहँदै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button