तपाईँ सुन्दै हुनुहुन्छः

बजार अनुगमन छल्न व्यापारीले गरे पसल बन्द

कष्णनगर । कपिलवस्तुको बजार अनुगमन नियमित रुपमा हुन सकेको छैन । यहाँ वर्षभरिमा मुश्किलले एक दुई पटक भन्दा बढी बजार अनुगमन हुने गरेको छ । फितलो बजार अनुगमनको फाइदा लिइहरेका यहाँका व्यापारीहरू पछिल्लो पटक भइरहेको आक्रामक अनुगमबाट बच्न भने पसल नै बन्द गरेर बसिरहेका छन् ।

प्रशासनले वर्षभरिमा मुख्य व्यापारिक क्षेत्रमा मात्र अनुगमन गर्ने गरेको थियाे । अहिले चाडपर्वको मुखमै अचानक बजार अनुगमन सुरु भएसँगै कालाेबजारी गर्ने व्यापारीहरू त्रसित भएका हुन् ।

सोमबार जिल्लाको मुख्य व्यापारिक केन्द्र कृष्णनगर बजार, बहादुगञ्ज र महाराजगञ्ज नगरपालिकाका व्यापारी डराएर सटर नै बन्द गरेको पाइएको छ । व्यापारीले बजार अनुगमनको त्रासले पसल बन्द गरेका हुन् । वर्षभरि अनुगमन नहुँदा अचानक आउने अनुगमन टोलीले कारबाही गर्छ भन्ने डरले सटर बन्द गरेका हुन् ।

चाडपर्वको सिजन सुरु भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सहितको टोलीले संयुक्त रूपमा बजार अनुगमन गरिरहेका छन् ।

अनुगमन टोलीले होटेल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर, तेलको अवस्था लगायतका विषयमा अनुगमन गर्ने गर्छ । पाउरोटी उद्योग, आइस क्रिम उद्योग, मासु पसल, एग्रोभेटमा अनुगमनलाई तीव्रता दिएको छ । अनुगमन टोलीले पालिकासँग सहकार्य गरि होटेल तथा रेस्टुरेन्ट, किराना पसल, खाद्य उद्योग, हाट बजार, दुग्ध डेरी, माछा तथा मासु पसलको अनुगमन गर्ने गरेका हुन् ।म्याद गुज्रिएका खाद्य पदार्थ बेच्ने, मूल्य सूची टाँस नगर्ने, इजाजत नलिई व्यवसाय गर्नेलाई कारबाहीको दायरामा समेत ल्याउने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयका ना।सु। बाबुराम शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख रमेश दाहाल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख विष्णु प्रसाद खनाल, घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाका प्रमुख प्रेम बहादुर गौतम, कृषि ज्ञान केन्द्र कार्यालय कपिलवस्तुको प्रमुख भास्कर पौडेल लगायतको संयुक्त टोलीले बजार अनुगमन गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button