तपाईँ सुन्दै हुनुहुन्छः

संविधानले सबैलाई समेटेको छ: पूर्वराष्ट्रपति यादव

नवलपरासी । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताउनुभएको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सूर्यपुरामा विपी कोइरालाको सालिक अनावरण गर्ने क्रममा आज पूर्वराष्ट्रपति यादवले संविधानले सबै नागरिकको हक र अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्नुभयो ।

एक सय १०औँ विपी जयन्तीका अवसरमा बिपी कोइरालाको अर्धकदको सालिक अनावरणका लागि यहाँ आइपुग्नुभएका उहाँले सबैका हक र अधिकार स्थापित गरेको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताउनुभयो । उहाँले विपीको राष्ट्रवादलाई सबैले अङ्गाल्नुपर्नेमा जोड दिनुभयो ।

नेपालका प्रथम राष्ट्रपति डा यादवले अहिले नेपालीहरु परजीवी बन्दै गएको बताउनुभयो । ‘हामीले पहिले भारतलगायत अन्य मुलुकमा कृषिजन्य उत्पादन निर्यात गथ्र्यौ, तर त्यही तिनै वस्तुमा भारतलगायतका देशमा परनिर्भर हुनुपरेको छ । यो दुःखद् अवस्था हो’, उहाँले भन्नुभयो ।

अहिले तराई क्षेत्रमा भइरहेको चुरे दोहनका विषयमा पूर्वराष्ट्रपति डा यादवले चिन्ता व्यक्त गर्दै चुरेको संरक्षण गर्न नसक्दा तराई मरुभूमि जस्तै बन्न थालेको उल्लेख गर्नुभयो । प्राकृतिक स्रोतहरूको चरम दोहनले भोलिका दिनमा मानव सङ्कट पर्ने बताउँदै उहाँले प्राकृतिक सम्पदाको दोहन रोक्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button