तपाईँ सुन्दै हुनुहुन्छः

एमसिसी परियोजना कार्यान्वयनमा शङ्का नगर्न मन्त्री ज्वालाको आग्रह

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद् र सरकारले निर्णय गरेको एमसिसी परियोजना कार्यान्वयनमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटका लागि पुग्नुभएका अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट र उहाँको प्रतिनिधिमण्डललाई मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमा शङ्का नगर्न आग्रह गर्नुभएको हो ।

‘नेपाल सरकार र सार्वभौम संसद्ले एमसिसी परियोजना पास गरिसकेको छ, परियोजनाको सफल कार्यान्वयनमा नेपाल सरकारले कुनै कमी गर्नेछैन’, मन्त्री ज्वालाले भन्नुभयो, ‘परियोजनामा केही समस्या छन्, तर ठीक समयमा सुरु गरेर ठीक समयमा निर्माण सकेपछि अहिले उब्जिएका कतिपय समस्याहरु आफैँ हल भएर जानेछन् ।’

प्रमुख कार्यकारी अधिकृत अलब्राइटले एमसिसी परियोजना सहज रुपमा कार्यान्वयनमा गएकाप्रति आफूलाई खुसी लागेको बताउनुभयो । ‘एमसिसी परियोजना कार्यान्वयनको चरणमा म नेपाल आएको छु नेपाल सरकारको सकारात्मक धारणाले म खुसी पनि छु’, उहाँले भन्नुभयो ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन लगायतको उपस्थिति थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button