तपाईँ सुन्दै हुनुहुन्छः

संविधानसभा अध्यक्ष नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि 

काठमाडौँ । संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङलाई आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । 

उहाँको पार्थिव शरीरमा छोराहरू मिङसो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिनु भएको छ ।

पशुपति आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको थियो । नेपाली सेनाको टुकडीले स्वर्गीय नेम्वाङको सम्मानमा सलामी अर्पण गरेको थियो ।

यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभामुख इन्दिरा राना, पूर्व सभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री तथा मन्त्रीहरू, सांसदहरु विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका अधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, आफन्त तथा शुभेच्छुकहरूले आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिनुभएको छ । स्वर्गीय नेम्वाङको दाहसंस्कारमा सहभागी हुन पशुपति आर्यघाटमा सर्वसाधारणहरूको भिड लागेको थियो । 

यसअघि, स्वर्गीय नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा गरिएको थियो । 

बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुर्‍याइएको थियो । 

७१ वर्षीय नेम्वाङको मङ्गलवार बिहान निधन भएको थियो । मङ्गलवार दिनभर र हिजो बुधबार दिउँसो १ बजेसम्म उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको थियो । 

त्यसपछि हिजो बुधबार दिउँसो बालुवाटारस्थित घरमा लगेर किरात संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइएको थियो । 

नेम्वाङको निधनमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारले देशभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र ती निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button