तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाली राजनीतिमा प्रदीप गिरिको अभाव खड्किरहेको छ’

सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको अभाव नेपाली राजनीतिमा खड्किरहेको बताउनुभएको छ ।

आज सिरहाको लहान नगरपालिका–१४ स्थित ‘गिरि आश्रम’ मा नेता गिरिको प्रथम वार्षिकी समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले स्व नेता गिरिको विचार र चिन्तनको मौलिकता तथा सबैसँग सरल र सहज सहकार्य गर्नसक्ने विलक्षण क्षमता भएकाले उहाँबाट सिक्न धेरै कुरा बाँकी रहेको महसुस गरेको बताउनुभयो ।

प्रदीप गिरि मेमोरियल ट्रस्टले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले नेता गिरिको पूर्णकदको शालिक अनावरण गर्नुभयो । समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले सिरहाको भौतिक पूर्वाधारको विकास र लहानमा प्रदीप गिरिको नाममा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, पूर्व मन्त्रीहरू मातृकाप्रसाद यादव, पद्मनारायण चौधरी, अजय शङ्कर नायके, सीतादेवी यादव लगायतले मन्तव्य राख्नुभएको थियो ।

लहान–१४ को खुट्टी खोलाको छेउमा गिरि विसं २०४६ पछि बस्दै आउनुभएको ठाउँलाई प्रदीप गिरिको आश्रम भनेर चिनिने गरिन्छ । स्व गिरिलाई बिपीको समाजवादी चिन्तनको सच्चा व्याख्याताका रूपमा हेर्ने गरिन्छ । नेता गिरिको ललितपुर नक्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा गत वर्ष भदौ ४ गते ७५ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button