तपाईँ सुन्दै हुनुहुन्छः

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

रुपन्देही ।नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ । वर्तमान अध्यक्ष समेत रहनुभएका कँडेलले एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

विजयी कँडेलले ४७९ मत प्राप्त गर्नुभयो भने रिजालले ४७७ मत प्राप्त गर्नुभएको थियो । रिजाल केन्द्रीय सदस्यबाट राजीनामा दिएर प्रदेश अध्यक्षमा निर्वाचनमा उम्मेदवारी दिएपछि चर्चामा आउनुभएको थियो ।

त्यसैगरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँसँगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याउनुभएको थियो । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँसँग दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याउनुभएको छ । 

महिला उपसचिवमा लिला रानामगर ३५२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याउनुभएको थियो ।  यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी हुनुभएको छ । पदाधिकारीमा सचिव लक्ष्मण आचार्यसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो ।

मङ्गलवार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो । विजयी उम्मेदारहरुलाई बुधबार बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्यूरो सदस्य सूर्य थापाले जानकारी दिनुभयो ।

पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कँडेल समूहका हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button