तपाईँ सुन्दै हुनुहुन्छः

सडक तत्काल सुधार्न मन्त्री ज्वालाको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुरावस्थामा पुगेका काठमाडौँ उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ ।

विभिन्न नौ निकायका प्रमुखहरूलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बोलाएर उहाँले समयसीमा तोकेर काठमाडौँ उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिनुभयो ।

सडक विभागले सडक कालोपत्रे गर्ने, केही दिनमै त्यही सडकमा नेपाल विद्युत् प्राधिकरणले खन्ने, लगतै नेपाल टेलिकमले पुनः खन्ने, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, ढल महाशाखा लगायतले खन्ने गर्नाले सडकको बेहाल भएको बताउँदै उहाँले टाइम लाइन तोकेर सडक सुधारमा लाग्न निर्देशन दिनुभयो ।

मन्त्री ज्वालाले बोलाएको सडकसँग सम्बन्धित उच्चस्तरीय बैठकमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सेना, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका रमेश केसी, ढल महाशाखाका डोलप्रसाद चापागाईँ, नेपाल टेलिकमका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button