तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा एक महिनादेखि रेबिज विरुद्धको खोपको अभाव

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक महिनादेखि रेबिज विरुद्धको खोपको अभाव छ ।

खोप अभाव हुँदा रेबिज विरुद्धको खोप लगाउन भेरी अस्पताल पुग्ने गरेका सर्वसाधारण निजी मेडिकलबाट खोप किन्न बाध्य छन् । सरकारले निःशुल्क दिँदै आएको रेबिज खोप भेरी अस्पतालको फार्मेसीमा नपाइँदा सर्वसाधारणले निजी मेडिकलबाट किन्नुपर्ने अवस्था छ । कतिपय त खोप नलगाएरै घर फर्किने गरेका छन् ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.पवनजंग रायमाझीले भने खोप सकिएको एक हप्ता मात्र भएको जिकिर गर्नुभयो । स्वास्थ्य सेवा विभागसँग माग गरे पनि नपाएको भन्दै उहाँले ५०–६० भाइल माग्दा समेत नपाएको बताउनुभयो । स्वास्थ्य सेवा विभागमा समेत नभएकाले भ्याक्सिनबारे अझै निश्चित नभएको उहाँको भनाई छ । बिरामीले बाहिरबाट खरिद गरेको गुनासो गरे पनि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। रायमाझीले अति गरिबलाई सामाजिक सेवा एकाइमार्फत भ्याक्सिनमा सहयोग गरिरहेको दाबी गर्नुभयो ।

कुकुरले टोकेपछि बाँके राप्तीसोनारी गाउँपालिका–१ कुसुमका अख्तर खान नेपालगञ्जमा रहेको भेरी अस्पताल पुग्नुभयो । जाँचपछि चिकित्सकले दिएको पर्चा लिएर उहाँ भेरी अस्पतालकै फार्मेसी पुग्नुभयो । तर, फार्मेसीले निःशुल्क पाइने रेबिज विरुद्धको खोप नभएको बताएपछि उहाँले छेउँकै मेडिकलबाट किनेको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका–१४ का सरोज यादवले पनि १० भदौमा आफूलाई कुकुरले टोकेपछि भेरी अस्पताल पुगेको तर अस्पतालले बाहिरबाट खोप किनेर ल्याउन भनेपछि त्यत्तिकै घर फर्किएको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button