तपाईँ सुन्दै हुनुहुन्छः

पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा डोरो बाँध्ने भक्तजनको घुइँचो (फोटोफिचर)

काठमाडौँ I जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ । 

यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा गई विधिपूर्वक स्नान गरेर नवयज्ञोपवीत धारण गरी डोरो बाँध्ने गर्छन् । अन्यले भने डोरो बाँधेर यो पर्व मनाउने गरेका छन् । वाग्मती नदीको तीरमा रहेको पशुपतिनाथ, गोकर्णेश्वर, बराहकर्णेश्वर, कुम्भेश्वरलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यसै गरी वसन्तपुर दरबार क्षेत्रको अशोकविनायक मन्दिर क्षेत्र, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथका नामले चिनिने मक्खन महादेव मन्दिरलगायतमा पनि बिहानैदेखि भक्तजनको भीड घुइँचो लागेको छ । 

यी स्थलमा ब्राह्मण एवं पुरोहित डोरो बाँध्ने र नयाँ जनै फेराउने गरिरहेको देखिन्छ । कतिले घरमै विधिपूर्वक स्नान गरेर यज्ञोपवीत र डोरो बाँधेर यो पर्व मनाउँछन् । पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको घुइँचो लागेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

पशुपति क्षेत्रका विभिन्न स्थानमा बसेका ब्राह्मणसँग नव यज्ञोपवीत धारण गर्न र डोरो बाँध्न भक्तजनको लाम लागेको उहाँले बताउनुभयो । पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकका नामले चिनिने चाबहिल गणेशलगायत ठुला, साना मन्दिरमा पनि डोरो बाँध्ने र नयाँ जनै फेर्ने भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा राजधानी र देशका अन्य ठुला, साना मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । 

प्रत्येक वर्ष मनाइने यो पर्वमा रक्षाबन्धन अर्थात् डोरो बाँध्ने कर्म गरेपछि मानिस विभिन्न नकारात्मक शक्तिबाट सुरक्षित हुने धार्मिक विश्वास छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । यसै दिन विश्व संस्कृत दिवस पनि मनाउन थालिएको छ । जरोकिलो प्रतिष्ठानले श्रावण शुक्ल पूर्णिमा र ऋषितर्पणी पर्वको अवसर पारेर विश्व संस्कृत दिवस मनाउन थालेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button