तपाईँ सुन्दै हुनुहुन्छः

संसदीय समितिहरूको सभापति चयनका लागि तोकियो मिति

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिले नेतृत्व चयनका निर्वाचन मिति तोक्नु भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा अन्तर्गत संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते सोमवार दिनको ३ बजेका लागि तोक्नु भएको हो । 

सभामुख घिमिरेले सभापति निर्वाचनको निर्वाचन सम्बन्धी सूचना प्रकाशित गर्न प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेलाई निर्देशन दिनुभएको छ  । 

यसैगरी सभामुख घिमिरेले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर भदौ १२ गते बस्ने बैठकमा हुने जानकारी गराउनु भएको छ । 

सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को तर्फबाट कानु न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले  “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७/०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८/०७९” पेश गर्नु भयो ।

यस्तै प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै कृषि तथा पशुपंक्षी मन्त्री डा.वेदुराम भुसालले पशु चौपायामा फैलिएको लम्पिस्कीन रोग नियन्त्रणका लागि सरकारले सम्भव भएसम्मका सम्पूर्ण उपायहरू अवलम्बन गरिएको बताउनुभयो । 

मन्त्री भुषालले रोगको अवस्थाबारे जानकारी लिई नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तिनै तहका सरकारहरू बीच निरन्तर छलफल भई एकिकृत प्रयास गरिएको संसद्लाई जानकारी गराउनुभयो । 

मन्त्री भुषालले रोगबाट हाल सम्म करिब १४ लाख ४७ हजार पशु चौपाया संक्रमित भएकोमा झण्डै १२ लाख ८९ हजार पशु चौपाया संक्रमण मुक्त भइसकेको सदनमा जानकारी गराउनुभयो । 

त्यस्तै लम्पिस्कीनका कारण हाल सम्म करिब ५२ हजार ५सय पशु चौपायाको मृत्यु भइसकेको छ भने अझै  करिब १ लाख ६ हजार भन्दा बढी पशु चौपाया बिरामी अवस्थामा रहेको पनि मन्त्री भुषालले जानकारी दिनुभयो ।  

लम्पिस्कीन रोग नियन्त्रणका लागि प्रयोग हुने भ्याक्सिन जोर्डन, तान्जानिया र टर्कीबाट १३ लाख ६९ हजार डोज आयात भएको र  ७ लाख ६ हजार पशुमा भ्याक्सिन लगाइसकेको मन्त्री भुषालले बताउनुभयो । 

यस अघि प्रतिनिधि सभा बैठकको शुन्य र विशेष समयमा बोल्दै सासंदहरुले देशका विभिन्न भागमा बाढी पहिरोले पुर्याएको क्षति, सडक अवरुद्ध हुँदा यात्रुले खेपिरहेको पिडा, लम्पी स्कीन रोगको नियन्त्रण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ । 

सांसदहरुले शिक्षा सस्तो सुलभ र प्रतिस्पर्धी बनाउँदै बजारको माग सम्बोधन गर्न सक्ने बताउन र उच्च शिक्षाका लागि विदेशिने युवालाई रोक्न सक्ने गरी नयाँ शिक्षा ऐन आउनु पर्नेमा जोड दिनुभयो ।  

देशका विभिन्न भागमा बाढी पहिरोका कारण समस्या बढिरहेको, बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा नागरिक घर जान नसक्ने अवस्था सिर्जना भएको, शिक्षा, निजामती जस्ता महत्वपूर्ण ऐनहरु समयमा नआउँदा समस्या उत्पन्न भइरहेको जस्ता विषयमा पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनु भयो ।  

यस्तै सांसदहरुले लम्पी स्कीन रोगका कारण किसान मारमा परिरहेको अवस्थामा पशु कार्यालयमा बजेट अभाव हुँदा त्यसको न्युनिकरण हुन नसकेको भन्दै समस्या थप नबढ्ने गरी समयमा नै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो । 

सांसदहरुले बजारमा महँगी बढ्दा आमसर्वसाधारण मारमा परिरहेको भन्दै प्रभावकारी अनुगमनका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो ।  

प्रतिनिधि सभाको अर्को बैठक भदौ १२ गते मङ्गलवार बिहान ११ बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button