तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा थप लगानी गर्न आग्रह गर्नुभएको छ ।

चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियल को–अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज बैठकलाई सम्बोधन गर्दै उहाँले प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यका रूपमा विकसित भइरहेको बताउनुभएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।

अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था तथा जलस्रोत लगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताहरूका लागि नेपालमा लगानी सहज रहेको उल्लेख गर्नुभयो । उहाँले ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आइसिटी र कृषिजस्ता विविध क्षेत्रमा नेपालमा थप लगानीका आकर्षक अवसरहरू रहेको जानकारी चिनियाँहरूलाई गराउनुभयो ।

नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले निरन्तर नाफा कमाएको उल्लेख गर्दै भारत, इयू र अन्य विकसित बजारमा नेपालले पाएको सहुलियतपूर्ण व्यापारिक पहुँचलाई लगानीकर्ताहरूले उपयोग गर्न सक्ने पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले युनान र नेपालबिचको आर्थिक सम्बन्ध थप सुदृढ गर्ने, व्यापार र अन्तर सरकारी सम्पर्कलाई थप विस्तार गर्न पनि आह्वान गर्दै यसले लगानी, पर्यटन, व्यापार र औद्योगिक साझेदारीमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा चीन, नेपाल र दक्षिण एसियाली देशका विशिष्ट नेता, सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मीको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button