तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गम ठाउँको विकासका लागि सरकार अघि सर्नुपर्दछ: अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुर्गम ठाउँको विकासका लागि सरकार अघि सर्नुपर्ने बताउनुभएको छ ।

आदिवासी जनजाति दिवसको अवसरमा आयोजित हुम्लाका युवाको सांस्कृतिक कार्यक्रमलाई यहाँ सम्बोधन गर्दै उहाँले दुर्गम ठाउँको विकासमा सरकार नलागी नहुने बताउनुभयो । “सरकार नलागी दुर्गम ठाउँको समग्र विकास गर्न सकिँदैन । शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, जडीबुटी उत्पादन, प्रशोधनजस्ता कुराको विकास गर्नका लागि सरकार चाहिन्छ”, उहाँले भन्नुभयो ।

उहाँले सरकारलाई दुर्गम जिल्लाको विकास गर्न ध्यानाकर्षणसमेत गराउनुभएको छ । अध्यक्ष ओलीले हुम्लाको दुर्गमता र अप्ठेरो जिन्दगी आफूले देखेको भन्दै भन्नुभयो, “त्यस जिन्दगीलाई सहज र सुखमय जिन्दगीमा परिणत गराउनका लागि के गर्न सकिन्छ त्यस बारेमा सोच्ने र त्यसलाई व्यवहारमा उतार्ने प्रयास पनि गरेको छु ।”

उहाँले हुम्ला जिल्लाको साथमा आफू रहेको भन्दै आफूले हुम्लावासी युवालाई सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लिमी हुम्लाको तल्लो भागदेखि माथिल्लो लिमी उपत्यकामा केही गर्न सकिन्छ भनेर सोचिरहेको उहाँले भनाइ राख्नुभयो ।

“त्यहाँको विद्यालय भवनको स्तर विकास गर्न सकिन्छ । विद्यार्थीलाई न्यानो कपडा विवतरण गर्न सकिन्छ भनेर मैले सोचिरहेको छु”, उहाँले भन्नुभयो । आदिवासी जनजातिले आफ्नो पहिचान र थर लेख्न पाउनु आधारभूत अधिकार भएको उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले कुन कुन जाति सूचीकृत हुन बाँकी रहेका छन् ती जातिलाई सूचीकृत गर्नका लागि आफूले पहल गर्नेसमेत बताउनुभयो ।

उहाँले ताप्लेजुङ, मुगु, हुम्ला र डोल्पालगायत दुर्गम क्षेत्रका बालबालिका काठमाडौँमा ल्याएर पढाउने भने ती बालबालिकाले भोलिको दिनमा मुलुकको नेतृत्व लिन सक्ने बताउनुभयो । ती बालबालिकाको नेतृत्वका विकासका लागि शिक्षा दिन आवश्यक रहेको उहाँको धारणा थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button