तपाईँ सुन्दै हुनुहुन्छः

‘सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार दृढ’

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी काण्डको सत्यतथ्य छानबिन गरी सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार दृढतापूर्वक लागिरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री श्रेष्ठले सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन र यस्ता घटना दोहोरिन नदिन सरकारले त्यसमा संलग्न जो–कोहीलाई पनि नछाडिने बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले सुन तस्करहरूले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्दा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा गिर्न सक्नेप्रति सरकार गम्भीर रहेको र त्यसका लागि अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणालीको पुनरावलोकन गर्न लागिएको पनि बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले सरकारका वैधानिक निकायहरूको कामप्रति अविश्वास गर्न नहुने भन्नुहुँदै अनुसन्धानलाई सत्यतथ्य बनाउन सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले सुन तस्करीको घटनापछि राष्ट्रिय सुरक्षा संवेदनशीलता बढेकाले यस्ता विषयमा सबै राजनीतिक दलहरू तथा नागरिक समाजको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसद योगेश भट्टराईले सुन तस्करीको सत्य–तथ्य छानबिनका लागि संसद्को लेखा समितिले समेत उच्चस्तरीय छानविन समिति गठन गर्न निर्देशन दिइसकेको हुनाले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने बताउनुभयो ।

सांसद भट्टराइले विद्युतीय चुरोट आयातमा भएको भनिएको ९ किलो सुन तस्करीबारे प्रहरीले प्रारम्भिक सूचना पाए पनि छानविन अगाडि नबढेपछि एक सय किलो सुन आयातको छानविन हुनेमा थप आशङ्का बढाएको बताउनुभयो ।

सांसद विश्वप्रकाश शर्माले हरेक घटनामा राजनीतिक प्रकृतिका आयोग गठन गर्ने प्रवृत्तिले समस्या समाधान गर्न सक्ने हुनाले सरकारी संयन्त्रलाई विश्वसनीय बनाउन प्रयास गर्नुपर्ने बताउनुभयो ।

सांसद शर्माले वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोका कारण पीडितको उद्धार, राहत र पुन:स्थापनामा ध्यान केन्द्रित गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

यस्तै बैठकमा सांसद देवेन्द्र पौडेलले सरकारी संयन्त्रले गरिरहेको छानबिनको नतिजा आउँदासम्म धैर्य गर्न आग्रह गर्नुभयो ।

सांसद रवि लामिछानेले तस्करले सुन भण्डार गरेको भनिएको ठाउँमा सरकारी निकायले ढिलो गरी खोजतलास गर्दा तस्करले तस्करीको सुन लुकाउन समय पाएको र सरकारको काम–कारबाहीप्रति प्रश्न उठेको बताउनुभयो ।

यस्तै प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरु राजेन्द्र लिङ्देन र राजकिशोर यादवले सहमतिका नाममा प्रमुख तीन दलले संसद्लाई बन्धक बनाउनु उचित नभएको बताउनुभयो ।

सांसद मेटमणि चौधरीले सुनकाण्ड लगायतका सबै अनियमितताहरूको गहिरो छानविन हुनुपर्ने माग गर्नुहुँदै कुन निकायले वा कुन प्रक्रियाबाट अनुसन्धान गर्ने भन्ने जस्ता प्राविधिक कुरामा अल्झिन नहुने बताउनुभयो ।

प्रमुख राजनीतिक दलहरुबीच प्रतिनिधि सभाको बैठक सुचारु गर्ने विषयमा आज बिहान सहमति भएपछि आजको बैठक सुरु भएको थियो ।

तर बैठकमा गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको र सुन काण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने कुरा नआएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले आजको कार्यसूचीमा रहेका सबै विषय हटाउँदै बैठक भोलि सम्मका लागि स्थगित गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button