तपाईँ सुन्दै हुनुहुन्छः

सदनमा अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्नुहुने

काठमाडौँ । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्नुहुने भएको छ । सोमबार संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले आज सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि उहाँले सोमबार अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गर्नुभएको हो ।

file photo

आजको बैठकमा सत्तापक्षका सचेतकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्णयअनुसार नै भ्रष्टाचारको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताउनुभएको थियो । उहाँहरूले सरकारी निकाय नै पर्याप्त भएको अडान लिनुभएको थियो ।

यता, प्रतिपक्षका सांसदले अहिलेको सरकारी संयन्त्रले छानबिनको काम गर्न नसक्ने र ठूला दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन नसक्ने बताउनुभयो । उहाँहरूले उच्चस्तरीय छानबिन समिति गठन गरौँ भन्ने पक्षमा अडान लिनुभयो ।

सभामुखको कार्यकक्षमा भएको छलफलमा नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेकपा(एमाले) का सांसद लीलानाथ श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, जनता समाजवादी नेपालका प्रमुख सचेतक प्रदीप यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही सहभागी हुनुहुन्थ्यो । नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि सहभागी थिएनन् ।

नेकपा (एमाले) सचेतक महेशकुमार बर्तौलाले सदनको अवरोध हटाउन सभामुखले शीर्ष नेताको तहमा पहल गर्नुपर्ने बताउनुभयो ।

रास्वपाका प्रमुख सचेतक परियारले शीर्ष दलका नेताहरूबाटै यस विषयलाई टुङ्गोमा पुर्‍याउन सभामुखलाई सुझाव दिइएको बताउनुभयो ।

सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button