तपाईँ सुन्दै हुनुहुन्छः

सानी भेरीमा बेपत्ता भएका युवक मृत अवस्थामा जाजरकोटमा फेला

जाजरकोट । गत साउन ७ गते सानी भेरी नदीमा बेपत्ता भएका रुकुम पूर्व सिस्ने गाउँपालिका ८ भुरुवा घर भएका ३८ वर्षीय छविलाल पुन मृत अवस्थामा फेला परेका छन् ।

एक जना गाउँलेको निधन भएपछि मलामी गएका पुन पौडी खेल्ने क्रममा गत आइतबार भुरुवा स्थित सानी भेरी नदीमा बेपत्ता भएका थिए । बेपत्ता पुन मङ्गलवार जाजरकोट भेरी नगरपालिका १ कालेगाँउ नजिक भेरी नदीको किनारमा मृत अवस्थामा फेला परेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताउनुभयो ।

रुकुम पश्चिम र जाजरकोट जोड्ने कालेगाँउ स्थित भेरी पुल नजिकै बेवारिसे लास रहेको स्थानीयको सूचनाका आधारमा प्रहरीले लास निकालेको थियो ।

लासको पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ । मृतकका आफन्तले बेवारिसे लास छविलालकै भएको पुष्टि गरेको प्रहरीले जनाएको छ । सानो भेरी रुकुम पूर्व हुँदै रुकुम पश्चिमबाट र ठुली भेरी डोल्पा हुँदै दुवै नदी जाजरकोटको रिम्ना भन्ने ठाउँमा मिलेपछि भेरी नदी बन्ने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button