तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउन सुरु

बाँके । गाईभैसिमा लाग्ने रोग ‘लम्पी स्किन’ (छालामा गिर्खा आउने रोग) विरुद्ध खोप लगाउन थालिएको छ ।

एकीकृत तथा पशुपक्षी विकास कार्यालय, बर्दियाले करिब दुई सातायता जिल्लामा करिब ५ सय गाईवस्तु लम्पी स्किन रोगबाट प्रभावित भएपछि खोप लगाउन शुरु गरेकाे हाे । 

एलएसडी नाम गरेको भ्याक्सिन जिल्लाभर गाईबस्तुमा खोप लगाउन शुरु गरिएको एकीकृत तथा पशुपक्षी विकास कार्यालय, बर्दियाका प्रमुख डाक्टर अनिल शर्माले बताउनु भयो । जिल्लामा ४ हजार खोप लगाइने भएको छ,’ उहाँले भन्नुभयाे, ‘तीन सातायता पाँच गाईवस्तु यस रोगबाट मृत्यु भइसकेको छ ।’ स्थानीयले भने लम्पी स्किनबाट दुई दर्जन बढी गाईबस्तुको मृत्यु भइसकेको बताए । लम्पी स्किनबाट सबैभन्दा धेरै मधुवन, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा गाईवस्तु प्रभावित भएका छन् । यस पालिकामा २ सय ५० बढी गाईबस्तुलाई लम्पी स्किन रोग लागेको छ ।

नेपालमा यो रोग २०७७ सालमा सुनसरी जिल्लामा देखा परेको थियो ।यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने, र्‍याल सिँगान बग्ने जस्ता लक्षण देखिने पशु चिकित्सक बताउँछन् । यो महामारीका रुपमा फैलिँदै जाने सम्भावना भएकोले बेलैमा उपचार हुन जरुरी रहेको स्थानीय पशुपालक बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button