तपाईँ सुन्दै हुनुहुन्छः

खुल्दैनन् पाठेघर खस्ने समस्या भएका सल्यानी महिलाहरू 

सल्यान । सल्यानमा आङ (पाठेघर) खस्ने समस्या भएका महिला अझै पनि खुलेर बाहिर वा स्वास्थ्य संस्थासम्म आउन सकिरहेका छैनन् । कसैको करकाप तथा बाध्यताका बिच जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने महिला पनि आफ्नो समस्याका बारेमा खुल्न नसक्ने, लजाउने, बोल्दा हिच्किचाउने गरेको पाइन्छ । 

जटिल समस्या नआउँदासम्म पाठेघर खसेका महिलाले आफ्नो व्यथा लुकाएर राख्ने जसका कारण दिन प्रतिदिन उनीहरूको ब्या बल्झिँदै जाने सल्यान जिल्ला अस्पतालका डा. अभिषेक सिंहले बताउनु भयो । उहाँले भन्नु भयो मुख्य समस्या पाठेघरको भएपनि अर्कै समस्या लिएर आउनु हुन्छ । हामीले सहजीकरण गर्दा हिच्किचाएर पाठेघरको समस्या लिएर आएको भनेर भन्नु हुन्छ । 

कलिलैमा विवाह गरी सुत्केरी हुनु नै पाठेघर खस्नुको मुख्य समस्या रहेको अस्पतालले जनाएको छ । गर्भवती अवस्थामा महिलाले गह्रुँगो भारी बोक्दा, चुरोट बिडी खाएर बारम्बार खोक्दा, बच्चा जन्मिसकेपछि चाडै साल झरेन भनेर बल गरी साल निकाल्दा, सुत्केरी अवस्थामा टुक्रुक्क बस्दा र काम गर्दा पाठेघर खस्न सक्ने सम्भावना धेरै रहने डा. सिंहको भनाई छ । 

अशिक्षा, गरिबी, चेतनाको अभाव र भौगोलिक विकटताका कारण पाठेघर खस्ने समस्या लुकाएर बस्न बाध्य हुने गरेको पठी बुढाथोकीले बताउनु भयो । उहाँले भन्नु भयो घर परिवार, छरछिमेकीले के भन्लान् भन्ने सोचले रोग लुकाएर राखियो । 

१६ वर्षमै विवाह गरी १७ वर्षमा सुत्केरी भएकी माया खड्काले पनि सन्तुलित र ज्ञानको अभावकै कारण पाठेघर खस्ने समस्या झेल्दै आउनु भएको छ । सानै उमेर विवाह गरी आमा बन्दा र स्वास्थ्य सम्बन्धी ज्ञान नहुँदा १७ वर्षकै उमेरमा पाठेघर खस्ने समस्या बल्झिएको उहाँको भनाई छ । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्ष सल्यान जिल्ला अस्पतालमा मात्र  २० वर्ष मुनीका १ हजार ४ सय २० महिला सुत्केरी भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button