तपाईँ सुन्दै हुनुहुन्छः

मुस्लिम बालिकाहरूलाई आकर्षित गर्न कन्या विद्यालय सञ्चालन

नेपालगञ्ज । मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको बाँकेको जानकी गाउँपालिकाले मुस्लिम बालिकाहरूलाई आकर्षित गर्न वडा नम्बर ३ मा कन्या माध्यमिक विद्यालय सञ्चालन गरेको छ । यसै शैक्षिक सत्रदेखि कन्या विद्यालय सञ्चालनमा आएको हो । विद्यार्थी ल्याउन, लैजान निःशुल्क बस पनि सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताउनुभयो ।

गाउँपालिकाले छोरी बिमा कार्यक्रम र छोरी कल्याण कोष पनि सञ्चालन गरेको छ । छोरी कल्याण कोषमा जन्मने बित्तिकै हरेक छोरीका लागि प्रत्येक वर्ष गाउँपालिकाले ५ हजार रुपैयाँ जम्मा गर्ने गरेको छ । शिक्षामा सुधार ल्याउन गाउँपालिकाले गरिरहेको कामको सराहना गर्दै पढाइमा सहजताका लागि अब फ्रि–वाइफाइको व्यवस्था पनि गरिनुपर्ने बालिकाहरू बताउँछन् ।

विद्यार्थीहरू विद्यालय जान नमानिरहेको अवस्थामा स्थानीय सरकारले छात्राहरूलाई प्रोत्साहन गर्ने गरी योजना बनाउँदा अभिभावक खुसी भएका छन् । अभिभावक सुनिता लोधले अध्यापन गराउने शिक्षक समेत महिला भएका कारण बालिकाहरू विद्यालय जान उत्साहित भएको बताउनुभयो ।

आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा पनि शिक्षालाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ । मधेशी र मुस्लिम बहुल क्षेत्र भएका कारण विशेष गरी बालिकाहरूलाई आकर्षित गर्ने गरी योजना बनाउँदै अघि बढ्ने गाउँपालिकाको मार्गचित्र छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button