तपाईँ सुन्दै हुनुहुन्छः

बाजागाडामा एक घर,एक धारा : हट्यो खोलाको पानी पिउनु पर्ने बाध्यता

जुम्ला  । हिमा गाउँपालिका वडा नं. ५ स्थित दुर्गम बाजागाडा गाउँमा जुम्लाकै पहिलो ईनलाईन क्लोरिनेशन गरिएको पानी घरघरमा पुगेको छ । 

बाजागाडा गाउँको १ सय ३६ घरधुरीमा शुद्धीकरणसहितको एक घर एक धारा पुगेको हो । नेपाल सरकार,युरोपियन युनियन फिनल्याण्ड सरकारको सहयोग मार्फत हिमा गाउँपालिकाद्धारा सञ्चालित खानेपानी सरसफाई तथा स्वच्छता (सुष्वा) परियोजनाको  ७६ लाख ७७ हजार ८ सय ६७ रुपैयाँ लागतमा एक घर एक धारा निर्माण भएको परियोजना संयोजक सुमिता शाहीले बताउनुभयो हो । उहाँका अनुसार खानेपानी आयोजना निर्माणमा स्थानीय नागरिकको कुल लागतको २० प्रतिशत जनश्रमदान रहेको छ ।

सुष्वा परियोजनाको ७६ लाख लगानीमा निर्माण भएको बादाखोला खानेपानी तथा सरसफाई आयोजनाको बुधबार उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्षले आयोजनाको उद्घाटन गर्नु भएको हो । अध्यक्ष लक्ष्मण बहादुर शाहीले हिमालाई खानेपानी,सरसफाई तथा स्वच्छतामा जिल्लाकै अब्बल पालिका बनाउने गरी सुष्वा परियोजना मार्फत विभिन्न काम गरिने बताउनुभयो । 

जुम्लाकै नमुना खानेपानी आयोजनाका रुपमा बाजागाडामा घरघरमा पाइप लाइनबाटै पानी शुद्धीकरण गरेर आएकोले पानीको बहुआयामिक सदुपयोग तथा संरक्षणमा ध्यान दिन उहाँले स्थानीयलाई आग्रह गर्नुभयो । 

सुष्वा परियोजनाका प्राविधिक विज्ञ नारायणसिंह खवासले सुष्वा परियोजना लागु भएका कर्णालीका २१ वटै स्थानीय तह मध्य हिमा पहिलो ईनलाईन क्लोरिनेशन मार्फत शुद्धीकरण गरी घरघरमा पानी पुराइएको बताउनुभयो । उहाँले भन्नुभयो,“ईनलाईन क्लोरिनेशन गरेको पानी जीवाणु रहित हुन्छ । कोलिफर्मले जीवाणु मार्छ । जसले गर्दा नागरिकको स्वास्थ्यमा कुनै असर पर्दैन । यो प्रविधि कर्णालीकै पहिलो हो।”

कर्णालीका अधिकांश नागरिक अझै शुद्ध पानीको पहुँचमा पुगेका छैनन् । त्यसैले ईनलाईन क्लोरिनेशन प्रविधि सबै खानेपानी आयोजनामा लागु गर्न जरुरी छ । सुष्वा परियोजना मार्फत साढे ५ वर्षमा ७ सयवटा योजना निर्माण हुने र त्यसमार्फत २ लाख ६२ हजार ५ सय नागरिक लाभान्वित हुने लक्ष्य राखिएको छ । 

जसअन्तर्गत पहिलो आयोजना स्वरूप बादाखोला खानेपानी तथा सरसफाई आयोजना उद्घाटन भएको हो । हिमामा फागुनदेखि लागु भएको परियोजनाले दीर्घकालीन महत्वको खानेपानी आयोजना निर्माण गरी नागरिकको पीडामा मलम लगाएको हिमा गाउँपालिका उपाध्यक्ष सुर्पना शाहीले बताउनुभयो ।  

हट्यो खोलाको पानी पिउनुपर्ने बाध्यता 

हिमा गाउँपालिका–५ निवासी ५० वर्षीया छुमकली रावतको जीवन ऊर्जाशील  ४ दशक खोलाकै दूषित पानी बोक्दै बित्यो । शुद्ध पानी त परै जावस गाउँमा स्रोत भएर पनि गाउँसम्म पानी ल्याउने पहल नहुँदा छुमकलीलाई खोलाको पानी बोक्न र पिउनु पर्ने बाध्यता जीवनभर भइनै रह्यो । पछिल्लो समय केही संस्थाले गाउँभरि ३/४ धारा निर्माण नगरेका हैनन् । माग र आवश्यकताअनुसार पानीको प्रबन्ध नहुँदा खोलाकै पानी पिउन उहाँ बाध्य हुनुहुन्थ्यो  । तर लामो समयको अन्तरालपछि सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता (सुष्वा) परियोजना मार्फत जुम्लाकै पहिलो ९ईनलाईन क्लोरिनेशन० गरेको पानी धारा घरमै झरेपछि भने छुमकली दङ्ग छिन् । उहाँले भन्नुभयो,“खोलाको पानी बोक्दै वर्षौँ बित्यो । पानीकै निहुँमा घरमा झगडा हुन्थ्यो । सरसफाई त परै जाओस् राम्ररी पिउनै पुग्दैन थियो । धाराको पानी नखाई मरिजाउला सुच्या थियाँ । कस्तो भाग्य घरघरै धारा पुग्या । हामीले पानीका दुःख पायापुनि छोरानातीले नपाउने भया । जात्ती खुसी छु ।”

त्यस्तै घरमै शुद्ध पानीधारा पुगेपछि बाजागाडा गाउँकी ७० वर्षीया बुझी रोकाया पनि खुसी छन् । गाउँमा धारा नहुँदा बिहान ४/५ नबज्दै गाग्री बोकेर खोला जानुपर्ने कष्ट भोगेकी रोकाया घरघरमा धारा पुग्दा निकै सुखको अनुभूति भएको बताउनुहुन्छ । ईनलाईन क्लोरिनेशन गरेको शुद्ध पानी घरमा पुग्दा स्वास्थ्य सुरक्षित,समयको बचत हुने उहाँको आशा छ ।

घरघरमा धारा पुग्दा छुमकली रावत र बुझी रोकाया मात्र हैन बाजागाडा गाउँका १ सय ३६ घरधुरीका ९ बढी नागरिकनै उत्साहित छन् । घरघरमा धारा पुगेपछि गाउँलेले पञ्चेबाजासहित हर्ष मनाएका छन्  भने संरचनाको दिगो व्यवस्थापन,सदुपयोग र संरक्षण गर्ने बाचा पनि गरेका छन् । 

१ सय ३६ घरधुरी रहेको बाजागाडा गाउँ पानी अभावले पिल्सिएको थियो । एक घर एक धाराको विकास भएपछि बाजागाडा बासीको खोलाको पानी खाने बाध्यता र खानेपानी अभावको समस्या अन्त्य भएको स्थानीय दलवीर रावतले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button